काठमाडौं ।।
काठमाडौं महानगरपालिकाले बालुवाटारस्थित ललिता निवासको जग्गा तारबार गर्ने भएको छ । आइतबार महानगर प्रहरीको एक टोली बालुवाटार पुगेको छ । बालुवाटारस्थित एनआरएनए कार्यालय नजिक महानगर प्रहरीको टोली पुगेको हो ।
अहिले ललिता निवासको जग्गा यकीन गर्ने र पछि तारबार गरिने महानगर प्रहरीले जनाएको छ । ललिता निवासको करिब १४३ रोपनी सरकारी जग्गा व्यक्तिको नाममा गरेको अभियोगमा १७५ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा चलिरहेको छ । त्यस्तै यो जग्गा व्यक्तिको नाममा नामसारी गर्ने क्रममा सरकारी कागजात कीर्ते गरेको आरोपमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले पनि अनुसन्धान गरिरहेको छ ।
महानगर प्रहरीले ललिता निवास क्षेत्रको सार्वजनिक जग्गामा बनेको अस्थायी टहरा हटाउन निर्देशन दिएको छ । महानगर प्रहरी निरीक्षक ईश्वर वाग्लेका अनुसार ललिता निवासले चर्चेको सार्वजनिक जग्गामा बनेको सबै अस्थायी संरचना हटाएर कम्पाउण्डिङ गर्ने तयारी गरेको हो ।
‘सार्वजनिक जग्गामा बनेको अस्थायी संरचना जति खाली गरेर अहिले कम्पाउण्डिङ गर्ने र ठूला तथा पक्की संरचनामा अर्को निर्णय गरेर कारबाही गर्ने आदेश भएको छ’ बालुवाटारमा रहेका उनले भने । ललिता निवासको जग्गामा हाल करिब २५ वटा साना टहरा बनाएर गोदामघर, पसल आदि सञ्चालनमा रहेका छन् । ‘उहाँहरुलाई हट्न भनेका छौं, त्यसपछि हामी तारबार लगाउँछौं,’ वाग्लेले भने ।