बुटवल ।।
अर्थमन्त्री डा. प्रकाशशरण महतले नयाँ मौद्रिक नीतिले शिथिल बनेको अर्थतन्त्र चलायमान हुने बताएका छन् । मौद्रिक नीतिले बैंकहरुको ब्याजदर खुकुलो बनाएकाले निजी क्षेत्रमा पुँजी प्रवाह बढ्न गई लगानीको वातावरण सहज हुने बताए ।
‘मौद्रिक नीतिले पोलिसी रेट ६.५ प्रतिशत तोकेको छ,यसले बैंक ब्याज दर स्वतः खुकुलो हुन्छ र बजारमा पुंजी प्रवाह बढ्छ, जग्गा कारोबार पनि सहज हुन्छ,’ उनले भने, ‘अब छिट्टै शिथिल बनेको अर्थतन्त्र चलायमान हुन्छ ।
’आफूले तस्करीको सूचना दिनेलाई पुरस्कारको व्यवस्था गरेकाले सय केजी सुन बरामद भएको दाबी गर्दै अर्थमन्त्री महतले यस प्रकरणमा जरैसम्म पुगेर अनुसन्धान हुने बताए ।
सुन बरामद प्रकरणमा अर्थमन्त्री र गृहमन्त्रीले राजीनामा दिनुपर्छ भन्ने कांग्रेस सांसद डा. सुनिल शर्माको अभिव्यक्तिबारे महतले शर्माको अस्पतालले स्वास्थ्य बीमा बोर्डको बीमा रकम नपाएका कारण मनपरी बोलेको बताए । पार्टीको केन्द्रीय समिति बैठक लाइभ हुँदा बाहिर चर्चाका लागि बोल्ने नेताहरुबारे भ्रम हटेको प्रवक्ता महतले बताए ।