काठमाडौं ।।
खाना पकाउने एलपी ग्यासको मूल्य प्रतिसिलिन्डर १०० रुपैयाँले घट्ने भएको छ । मंगलबार भारतीय आयल निगम (आईओसी) बाट ग्यासको मूल्य प्रतिसिलिन्डरमा १०० रुपैयाँले घटेर आएको छ । नेपालमा स्वचालित प्रणाली लागु भएकाले अब सोहीअनुसार मूल्य घट्ने नेपाल आयाल निगमका प्रवक्ता मनोजकुमार ठाकुरले जानकारी दिए ।
“आज बेलुका ५ बजे बोर्ड बैठक बस्दै छ, ग्यासको मूल्य सिलिन्डरमा १०० रुपैयाँ हाराहारीले घटेर आएको छ,” उनले भने, “त्यो अनुसार स्वचालित मूल्य लागु हुन्छ । बैठकले निर्णय गर्छ ।”
उनका अनुसार पेट्रोल, डिजेल, मट्टीतेल र हवाई इन्धनको मूल्य भने बढेर आएको छ । भारतबाट आएको नयाँ मूल्यसूचीअनुसार पेट्रोल प्रतिलिटरमा आठ, डिजेल प्रतिलिटरमा सात, मट्टीतेल प्रतिलिटरमा सात रुपैयाँ ५० पैसा र हवाई इन्धनको मूल्य प्रतिलिटरमा आठ रुपैयाँ ५० पैसाका दरले बढ्नेछ । नेपालमा नयाँ मूल्यसूची आजै राति १२ बजेदेखि लागु हुने उनको भनाइ छ ।