May 19, 2025 | सोमवार, जेष्ठ ७, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

उच्च सतर्कता अपनाउन कर्णाली नदीका बस्तीलाई आग्रह

  • साझा परिवेश
  • आइतवार, साउन २८, २०८० १0:३८
उच्च सतर्कता अपनाउन कर्णाली नदीका बस्तीलाई आग्रह
  • कर्णाली नदीको कटान तीव्र
  • टीकापुरको वडा नं ५, ६, ७, ८ र ९ वडा पूरै डुबान तथा कटानमा पर्ने
  • स्थानीयलाई परिचालन गरी जैविक तटबन्ध गर्ने निर्णय

टीकापुर ।।

कैलालीको टीकापुर-५ टीकापुर उद्यान (पार्क) नजिक कर्णाली नदीले कटान तीव्र बनाएको छ । नदीले टीकापुर पार्क सिमानामा बनाइएको तटबन्धनको कटान तीव्र पारेकाले बस्ती जोखिममा परेको हो । पार्क क्षेत्रमा कर्णाली नदी तटबन्धन भत्किएमा टीकापुरको वडा नं ५, ६, ७, ८ र ९ वडा पूरै डुबान तथा कटानमा पर्ने देखिन्छ ।

नदी कटान तीव्र भएपछि शनिबार सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाह, भौतिक पूर्वाधार विकासमन्त्री प्रकाशबहादुर देउवा, आन्तरिक मामिला तथा कानुनमन्त्री शिवराज भट्टलगायतको टोलीले कटान क्षेत्रको अनुगमन गरेको छ । मुख्यमन्त्री शाहले नदी नियन्त्रणका लागि प्रदेश सरकारले सक्दो पहल गर्ने जानकारी दिए ।

नदी बस्तीमा पसेमा हजारौं परिवारको उद्धार गर्नुपर्ने, हजारौं बिघा धानबाली नष्ट हुने खतरा बढेपछि बस्ती जोगाउन जैविक तटबन्ध गरिने भएको छ । टीकापुर नगरपालिका विपद् व्यवस्थापन समितिको बैठकले रानी जमरा कुलरिया सिँचाइ आयोजनाको सहयोगमा स्थानीयलाई परिचालन गरी जैविक तटबन्ध गर्ने निर्णय गरेको छ ।

नदी कटान तीव्र हुँदा सिँचाइ आयोजनाले कर्णाली नदीका केही स्थानमा बिग बोल्डर (ठूला ढुङ्गा) सहितको तटबन्धका लागि ठेक्का दिएको थियो । आयोजनाले जानकी गाउँपालिकाको खैरीफाँटा, टीकापुर नगरपालिकाको वडा नं ५ पार्क क्षेत्र, दौलतपुर र वडा नं ८ को वनगाउँमा बिग बोल्डर राखेर तटबन्ध गर्न गएको चैत महिनामा सम्झौता गरेको थियो ।

खैरीफाँटामा गाल्वा निर्माण सेवाले काम थाले पनि पार्क क्षेत्रमा ठेक्का पाएको मस्ट्रा विल्डर्स धनगढीले समयमा काम नगर्दा बस्ती खतरामा परेको हो । नदी तटबन्ध भत्काएमा टीकापुर पार्कको पहिचान समाप्त हुनेछ । आयोजनाले टीकापुर पार्क क्षेत्रमा चैतमा ठेक्का लिएको निर्माण कम्पनी मस्ट्रा विल्डर्स धनगढीलाई पटक-पटक बोलाउँदा पनि तटबन्धको काम नगर्दा अहिले बस्ती उच्च जोखिममा रहेको आयोजनाका प्रमुख केदारकुमार श्रेष्ठले बताए ।

‘हामीले जोखिम बढेकाले चैतमै ठेक्का गरेका हौं’, उनले भने, ‘निर्माण कम्पनीले नटेर्दा यो समस्या निम्तिएको हो । साथै ठूला ढुङ्गा पाउन पनि समस्या भएको छ ।’ नदीले धार परिवर्तन गरेकाले विगतमा भएका तटबन्ध नदीले रोक्न नसक्ने भएकाले आयोजनाले आजभोलि बिग बोल्डरसहित तटबन्ध गर्न थालेको छ । स्थानीय तहले मनोमानी नदी उत्खनन गरेकाले आज समस्या भएको आयोजना प्रमुख श्रेष्ठको भनाइ छ ।

जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाको सूचनाअनुसार शनिबारदेखि आगामी तीन दिन भारी वर्षाको सम्भावना रहेकाले कर्णाली नदीको पार्क क्षेत्र, दौलतपुरमा जोखिम बढेको छ ।

पार्क क्षेत्रमा टीकापुर नगरपालिकाले सिँचाइ आयोजनाको सहयोगमा स्थानीय बासिन्दा, प्रहरी, नेपाल रेडक्रस सोसाइटी, राजनीतिक दलका कार्यकर्ता, बरघर, कुला समितिका उपभोक्ताको सहयोगमा तटबन्ध गर्ने भएको छ ।

तटबन्धका लागि आवश्यक बोरालगायतका सामग्री सिँचाइ आयोजनाले सहयोग गर्ने, झालापाता, बाँस सामुदायिक वनबाट सहयोग लिने, प्राविधिक जनशक्ति जिल्ला विपद् व्यवस्थापन समितिसँग माग गर्ने टीकापुर नगरपालिकाका प्रमुख रामलाल डगौरा थारूले बताए । ‘नदी समयमै नियन्त्रण गर्न नसके टीकापुर बाढीले सकिन्छ’, उनी भन्छन्, ‘नदी फुटेमा हामीले उद्धार तथा राहतका कार्य गर्न पनि नसक्ने अवस्था हुन्छ ।’

जानकी गाउँपालिका वडा नं ९ स्थित पूर्वी खैरीफाँटा तथा शिवशक्ति सामुदायिक वन नजिक कर्णाली नदी कटान भइरहेकाले टीकापुर नगरपालिका वडा नं १, २, ३, ६ र ७ बाढीबाट क्षतिको जोखिममा छन् । पालिकाले सो स्थानमा नदी व्यवस्थापनका लागि रानी जमरा कुलरिया सिँचाइ आयोजना र जानकी गाउँपालिकालाई अनुरोध गरेको छ ।

जैविक तटबन्धको प्रयासपछि पनि कटान नियन्त्रण नभएमा टीकापुरका नागरिकलाई उद्धार गर्न पालिकासँग उद्धारका सामग्री पर्याप्त मात्रामा नरहेकाले आन्तरिक मामिला तथा कानुन मन्त्रालयसँग इन्जिनबोट माग गरिएको छ । पालिकाले नागरिकलाई सुरक्षित रहन आग्रह गर्दै ‘साइरन’ बजाउने, मोबाइलमा ‘म्यासेज’ गर्नेलगायतका कार्य सुरु गरेको छ ।

वर्षा निरन्तर भइरहेकाले आवश्यक कागजात सुरक्षित गर्न, जोखिममा रहेका नागरिक गर्भवती, सुत्केरी, ज्येष्ठ नागरिक र अपाङ्गता भएकालाई सुरक्षित तथा तयारी अवस्थामा राख्न आग्रह गरिएको विपद् व्यवस्थापन शाखा प्रमुख निर्मला चौधरीले बताइन् ।

यसअघि साउन २२ गतेदेखि आएको अबिरल वर्षाका कारण टीकापुर नगरपालिका वडा नं ६ र ७ का तीन सय ८१ घरधुरी बाढीबाट प्रभावित भएका छन्’, उनले भने, ‘सबै सरोकारवालालाई तयारी अवस्थामा रहन अनुरोध गरका छौँ । पालिकामा रहेका जनशक्तिलाई पनि तयारी राखेका छौं ।’

 

  • साझा परिवेश
  • आइतवार, साउन २८, २०८० १0:३८

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट