मैले सानैमा बुवाले भनेको सम्झें । बुवाले भनेको ‘ठूलो मान्छे’ यस्तै होला । देशको प्रतिष्ठित मान्छेले बुवालाई खादा, माला र अबिर लगाइरहनुभएको थियो । यी सबै हुँदा पनि बुवा शान्तले सुत्नुभयो । तर, हामी भने अशान्त भइरह्यौं ।
‘मर्नुभन्दा बहुलाउनु निको’, मृत्युदेखि डराएर बनेको उखान हो । मान्छेलाई मृत्युभन्दा जीवन प्यारो हुन्छ । जीवन हुँदा धेरैलाई धेरै सहयोग गर्न सकिन्छ । मृत्युपछि त शोक र सम्झना मात्रै रहन्छ ।
जीवनका पलपलमा मृत्यु र जीवन सँगसँगै हिंडिरहेकै हुन्छ । ट्राफिक लाइटमा एकातिरबाट जाने र अर्कातिर रोकिने जस्तै हाम्रो जीवन पनि उसैगरी चलिरहेको हुन्छ । जब जीवनले रातो बत्ती देखाउँछ । मृत्यु हरियो बत्ती बाल्दै बेपत्ता बत्तिन्छ, कहिल्यै नभेटिने गरी ।
मृत्युको शोकले थप शोक हुनुहुन्न भन्नेमा म पूर्ण सचेत छु ।
मेरै गाउँको एक घटना सम्झन्छु ।
खेती किसानमा आधारित गाउँले जीवन । असारे मास, मानो खाएर मुरी उब्जाउने समय । खेतीपाती चकाचक चलिरहेको थियो । २२ जनाको परिवार भएको एक घरमा बाबुको मृत्यु भयो । एक त शोक, अर्को समय अनुसार पौष्टिक आहार खान नपाउने ।
सामाजिक संस्कार अनुसार १३ दिन नुन बार्नैपर्ने, त्यसैले होला कमजोर बुहारीको नौ दिनमै मृत्यु भयो । जुठो बार्ने समय डबल भयो । असार घर्कियो । साउन परिवारको कमजोर शरीरले कामै गर्न सकेन । घरमा मान्छे मात्र घटेन, सारा खेतबारी बाँझो भयो । बालीनाली पनि घट्यो । मृत्युपछि मृत्यु खप्टिएर, शोकमा शोक खप्टिएर उनीहरू विलापमा बसे ।
वर्षेनि अन्न बेच्ने परिवार अर्को वर्ष खानै नपुगेर बसाइँ सरे । सम्पन्न भरिलो परिवार एकै वर्षमा विपन्न फोस्रो भए । यो घटनाले पृथ्वीलाई त कति क्षति पार्यो थाहा भएन, गाउँ उजाड भयो, परिवार ध्वस्त भयो र गाउँलेको मन नै अमिलो भयो ।
मृत्युले एकछिन तर्साए पनि बाँच्नेहरू जीवनमा फर्कनै पर्दछ । यसले मेरो मनमा शोकलाई शक्ति र सिर्जनामा बदल्दै, शोकका दिन छोट्याउँदै मानव जीवनमा समर्पित गर्नुपर्दछ भन्ने गहिरो गरी छाप पारिरहेछ ।
भनिन्छ-विश्वमा एक मिनेटमा औसत १०४ जना र नेपालमा प्रत्येक तीन मिनेटमा एक जनाको मृत्यु हुन्छ । यति धेरै मृत्युमा लामो शोक मनाउने प्रचलनले सिर्जना, समय, शक्ति र सम्पत्तिको मृत्यु भएको छैन र रु मृत्यु जीवनको लागि हुनुपर्दछ । जिउनेलाई सजिलो बनाउने मृत्यु हो । मृत्युको फरक परिभाषा हुनुपर्दछ ।
मैले पनि मेरो बुवा बितेपछि धेरै दिन यो र यसो भनेर बिताउने विचार गरिनँ । मर्ने त मरेर गइगयो । बाँकी जीवन बाँच्नेको निम्ति हो भनेर म काममा आजैदेखि फर्कें ।