काठमाण्डौं । – नेकपा (एमाले) का उपाध्यक्ष तथा पूर्वसभामुख सुवासचन्द्र नेम्वाङको निधन भएको छ। संविधानसभा अध्यक्षसमेत रहेका नेम्बाङको निधन हृदयाघातबाट भएको हो। उनलाई सोमबार राति १ बजे हृदयाघात भएपछि त्रिवि शिक्षण अस्पताल पुर्याइएको थियो।
नेम्वाङ केही दिनदेखि सामान्य रुघाखोकी लागेर घरमा आराम गरिरहेका थिए। उपचारका क्रममा अस्पतालमै निधन भएको स्वकीय सचिव कृष्णप्रसाद काफ्लेले बताएका छन्।
नेम्वाङ भदौ २३ गते राष्ट्रिय युवा संघको प्रथम कोशी प्रदेश अधिवेशन उद्घाटनमा धरान आएका थिए। त्यही कार्यक्रम उनको जीवनकै अन्तिम सार्वजनिक कार्यक्रम भएको छ। उनले धरानमा मन्तव्य दिइरहँदा कोशी नामकरणको विषयलाई लिएर पहिचानवादीहरूले कार्यक्रम प्रांगणबाहिर प्रदर्शनसमेत गरेका थिए। उनीहरूप्रति लक्षित गर्दै नेम्वाङले भनेका थिए, ‘ढुंगामुढा गरेर मात्रै पहिचान प्राप्त हुँदैन। हामीले ढुंगामुढा प्रहार गरेर ‘कस्तो खालको पहिचान खोजेको हो?’
उनले एमालेले अराजक गतिविधि गरी पहिचान स्थापित हुन नसक्ने बताएका थिए। अधिवेशन उद्घाटन कार्यक्रमका प्रमुख अतिथि रहेका नेम्वाङले एमाले पहिचानवादी पार्टी भएको दाबीसमेत गरेका थिए। उनले एमालेकै पहलमा किरातका महान् गुरु फाल्गुनन्दलाई राष्ट्रिय विभूति घोषणा गरेको बताएका थिए।
‘महागुरु फाल्गुनन्दलाई राष्ट्रिय विभूति घोषणा गर्दा उहाँ किरातीहरूको मात्र नभएर सिंगो देश, सबै जाति, धर्म, संस्कृतिका जनताको पनि महागुरु हुनुभयो। यति काम गर्ने पार्टीलाई पहिचान विरोधी भन्न मिल्छ?,’ उनले भनेका थिए, ‘पहिचानको ढुंगा खतरनाक हुँदो रहेछ, ताप्लेजुङको लिम्बू डीएसपीलाई लाग्ने, झापाको राजवंशी हबल्दारलाई लाग्ने, कस्तो खालको ढुंगा हो?’ उनले ढुंगा प्रहार गर्ने प्रवृत्ति कसैको हितमा नहुने तर्क राखेका थिए।
‘लोकतन्त्रको मूल्यमान्यतालाई बलियो बनाएर जानु नै देश र जनताको हितमा हुन्छ,’ नेम्वाङले भनेका थिए, ‘तराई मधेशदेखि हिमालसम्मका सबै जाति, धर्म, भाषा, संस्कृतिका जनता एक ठाउँमा उभिएकै कारण नेपाल सधैँ स्वतन्त्र मुलुक भनेर चिनिँदै आएको छ।’
तराई मधेशदेखि हिमालसम्मका विविध जाति, विविध भाषा, धर्म र संस्कृति भएकाहरूलाई एक ठाउँमा उभ्याएर देशलाई एकजुट बनाउन उनको आग्रह थियो।
‘धर्मनिरपेक्षता, पहिचान र समावेशीको सवाल एमालेकै अगुवाइमा सम्बोधन भएको हो। एमालेलाई पहिचान विरोधी भनेर गलत आरोप लगाउन मिल्दैन’, नेम्वाङले भनेका थिए, ‘कोशीमा देखिएको समस्या समस्या समाधान वार्ता र सहमतिबाटै हुन्छ।’
२००९ साल फागुन २८ गते इलाम नगरपालिका ७ सुन्तलाबारीमा जन्मिएका उनी शालीन नेताको रूपमा चिनिन्थे। अनेरास्ववियुबाट सक्रिय राजनीतिमा प्रवेश गरेका उनी नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीका विश्वासिला पात्र थिए।
उनी २०५१ मा कानुन, न्याय तथा संसदीय व्यवस्था राज्यमन्त्री बनेका उनी त्यसपछि सामान्य प्रशासन र स्थानीय विकासमन्त्री भए। उनी २०६३ वैशाख ३० देखि माघ १ गतेसम्म सभामुख बनेका नेम्वाङ २०६५ साउन १२ देखि २०६९ जेठ १४ सम्म र २०७० फागुन ६ देखि २०७२ असोज २७ गतेसम्म संविधानसभाध्यक्ष तथा सभामुख बने। उनले २०७० को दोस्रो संविधानसभा, २०७४ र २०७९ को निर्वाचन पनि इलाम २ बाटै जितेका हुन्।
गत फागुनमा भएको राष्ट्रपतिको निर्वाचनमा उनी नेकपा एमालेको तर्फबाट उम्मेदवारसमेत थिए। २०३२ देखि २०६३ सम्म मुलुकमा भएको राजनीतिक आन्दोलनमा पटकपटक गरी सात महिना थुनामा रहेका नेम्वाङले २०३५ देखि २०४२ सम्म नेपाल ल क्याम्पसमा प्राध्यापनसमेत गरेका थिए। उनी कानुन व्यवसायीका रूपमा पनि परिचित थिए।