काठमाडौं ।।
नेकपा (एमाले) ले संविधानसभाका अध्यक्ष तथा पार्टी उपाध्यक्ष स्व. सुवासचन्द्र नेम्वाङको स्मृतिमा सातै प्रदेशमा विचार गोष्ठी आयोजना गर्ने भएको छ ।
महासचिव शंकर पोखरेलको अध्यक्षतामा शुक्रबार बसेको पार्टीको बैठकले आगामी असोज २ गते विचार गोष्ठी गर्ने निर्णय गरेको हो ।
‘नेपालको संविधान निर्माणमा सुवासचन्द्र नेम्वाङ’ विषयमा हुने गोष्ठीमा विभिन्न राजनीतिक दलका नेताहरूलाई अतिथि वक्ताका रूपमा आमन्त्रण गरिने भएको छ ।
अध्यक्ष केपी शर्मा ओलीले तुल्सीलाल स्मृति प्रतिष्ठान, च्यासल, ललितपुरमा आयोजना गरिने विचार गोष्ठीलाई सम्वोधन गर्नेछन् । अन्य ६ प्रदेशमा हुने विचार गोष्ठीमा पार्टीका उपाध्यक्षहरू जानेछन् ।
एमाले प्रचार विभागका अनुसार वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल मधेस प्रदेशको जनकपुरमा, उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ कोसीको इलाममा, लुम्बिनीमा उपाध्यक्ष युवराज ज्ञवाली, गण्डकीमा उपाध्यक्ष अष्टलक्ष्मी शाक्य, सुदूरपश्चिममा उपाध्यक्ष विष्णुप्रसाद पौडेल र कर्णालीमा उपाध्यक्ष सुरेन्द्र पाण्डे प्रमुख वक्ता रहनेछन् ।