काठमाडौं ।।
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राईले विद्यार्थीहरू विदेश पलायन भइरहेकोबारे गहिरो अध्ययन आवश्यक रहेको बताएका छन् । मंगलबार शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति बैठकमा नेपाल विश्वविद्यालय विधेयकमाथि भएको छलफलमा शिक्षामन्त्री राईले नयाँ विश्वविद्यालयहरूले नयाँ ढंगले पाठ्यक्रम तर्जुमा गरेकाले विदेश जाने विद्यार्थीलाई रोक्ने सम्भावना रहेको बताए ।
“विद्यार्थीहरू विदेश पलायन हुनेबारे रिसर्च गरौँ । यसको गहिरो अध्ययन गर्नुपर्यो भन्ने मैले स्मरण गरिराखेको छु । अहिले भएका विश्वविद्यालयबाहेक अरू विश्वविद्यालय थप्दै गएका छौँ । पाइप लाइनमा अरू पनि छन् । यस्तो विश्वविद्यालयले नयाँ ढंगले पाठ्यक्रम तय तर्जुमा गर्दा नयाँ टिमले नयाँ उत्साहका साथ काम गर्दा विदेश जाने विद्यार्थीलाई रोक्ने सम्भावना रहन्छ भन्ने देखिएको छ,” उनले भने । शिक्षामन्त्री राईले चालु विश्वविद्यालयमा राजनीतिक हस्तक्षेप धेरै रहेको बताए ।