April 29, 2024 | सोमवार, बैशाख १७, २०८१
सुचनाहरु
नेप्से परिसूचक बढ्यो घुस लिएको आरोपमा वडाध्यक्षविरुद्ध मुद्दा दर्ता टी–२० विश्वकपका लागि न्युजिल्यान्डको टोली घोषणा कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष सिरोहियाविरुद्ध जाहेरी दर्ता वनमा आगो लगाउने व्यक्ति पक्राउ महोत्तरीका आगलागी पीडितलाई कामपाको १० लाख सहयोग अनलाइनबाट प्लेन टिकेट मिलाइदिन्छु भन्दै ठगी गर्ने युवती पक्राउ बझाङ उपचुनावमा एमालेका भण्डारी निर्वाचित गण्डकी सरकारविरुद्ध कांग्रेसले दिएको रिटमाथि सुनुवाइ जारी, आजै फैसला आउने इलाममा खुकुरी प्रहार गरी सौतेनी आमाको हत्या लु प्रभावितको उद्धार र राहतमा खटिन माओवादीको आग्रह भक्तपुरमा १६ वर्षीया किशोरी बलात्कृत, वृद्ध पक्राउ सुनको मूल्य घट्यो अञ्जान शाक्यले लिइन अराष्ट्रिय सभा सदस्यको शपथ बझाङमा एमालेका भण्डारी अगाडि मैत्रीपूर्ण टी–२० शृङ्खला : दोस्रो खेलमा वेस्ट इन्डिज ‘ए’ सग नेपाल पराजित नेपाली ओपनर लोकेश बम घाइते ; स्ट्रेचरमा राखेर बाहिर ल्याइयो नेपाललाई वेष्ट इन्डिजले दियो १६१ रनको लक्ष्य वेस्टइन्डिज ‘ए’ विरुद्ध नेपालले पहिला बलिङ गर्ने, टिममा ५ परिवर्तन राष्ट्रपतिबाट लगानी सहजीकरणसम्बन्धी अध्यादेश जारी

बिष्णा विरहीको “गरिमा” उपन्यास लोकार्पित 

  • साझा परिवेश
  • शनिबार, कार्तिक ४, २०८० १६:२९
बिष्णा विरहीको “गरिमा” उपन्यास लोकार्पित 

२०८० कात्तिक ४, काठमाडौं ।

साहित्यिक पत्रकार सङ्घ (सापस)को आयोजनामा आज यहाँ आयोजित एक कार्यक्रममा उपन्यासकार बिष्णा विरहीको दोस्रो उपन्यास “गरिमा”को लोकार्पण गरियो । प्रमुख अतिथि प्रा.डा. सुरेन्द्र केसी, आयोजक संस्थाका अध्यक्ष राधेश्याम लेकाली, समालोचकहरू प्रमोद प्रधान र डा. शान्तिमाया गिरि, उपन्यासकार विरही, सम्पादक विमल भौकाजी लगायतले पुस्तकको लोकार्पण गर्नुभएको थियो ।

सङ्घका अध्यक्ष राधेश्याम लेकालीको अध्यक्षतामा भएको उक्त कार्यक्रमको प्रमुख अतिथि वरिष्ठ इतिहासविद् प्रा. डा. सुरेन्द्र के. सी. हुनुहुन्थ्यो । कार्यक्रममा प्रमुख अतिथि प्रा. डा. के.सी.ले नेपाली साहित्यमा अहिलेको समयमा नेपालीहरूले भोगिरहेका समस्याहरू, देशमा विद्यमान विकृति र विसङ्गतिहरू एवम् सामाजिक सद्भावमा देखिएका खतराहरूको प्रस्तुति र चित्रण हुनुपर्नेमा जोड दिनुभयो ।

अध्यक्षको आसनबाट राधेश्याम लेकालीले नेपाली साहित्यको सही इतिहास लेख्ने हो भने नेपालभित्र लेखिएका साहित्यलाई मात्रै अध्ययन गरेर हुँदैन, त्यसका लागि भारत र अन्य देशहरूमा लेखिइरहेका साहित्यको अध्ययन गरेर समेट्नुपर्ने आवश्यकता औंल्याउनु भयो ।

वरिष्ठ साहित्यकार एवम् समालोचक प्रमोद प्रधानले उपन्यासमा घटनाहरूको संयोजन, विविध पात्रहरूको प्रस्तुति र भाषाशैली महत्त्वपूर्ण भएको बताउँदै उपन्यासको उत्तरार्द्धभन्दा पूर्वार्द्ध सशक्त भएको धारणा राख्नुभयो । उहाँले उपन्यासको उत्तरार्द्धमा अलि फिल्मी प्रभाव देखिएको विचार राख्दै उपन्यासका दुई मूल पात्र भने उदाहरणीय महिला पात्रको रूपमा रहेको भनेर प्रशंसा गर्नुभयो ।

समालोचक डा. शान्तिमाया गिरीले घटनाहरूको तारतम्य मिलाउने कौशल उपन्यासकारमा प्रशस्त रहेको बताउनुभयो ।

पुस्तकका सम्पादक एवम् शारदा मासिकका सम्पादक विमल भौकाजीले यो उपन्यासबाट एउटा राम्रो चलचित्र बनाउन सकिने बताउनुभयो । उपन्यासकार बिष्णा विरहीले आफूले अढाई दशक अगाडि रक्सौलको डंकन अस्पतालमा देखेको एक बालिकालाई बिर्सन नसकेपछि अहिले सोही पात्रलाई लिएर उपन्यास लेखेको जानकारी दिनुभयो ।

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजका केन्द्रीय महासचिव विमला निरौलाले विदेशी भूमिमा बसेर साहित्य सिर्जनाका लागि समय निकाल्न अत्यन्त कठिन भएको अवस्थामा उपन्यासजस्तो कृति तयार गर्नु आफैंमा उदाहरणीय कार्य भएको भन्दै शुभकामना दिनुभयो ।

साहित्यिक पत्रकार सङ्घका पूर्व अध्यक्ष नरेन्द्रबहादुर श्रेष्ठले स्वागत भाषण र गायिका ऋतु कँडेलले स्वागत गीत प्रस्तुत गरेको उक्त कार्यक्रम कवि राजबाबु श्रेष्ठ सागरले संचालन गर्नुभएको थियो ।

कार्यक्रमको उद्घाटन प्रमुख अतिथि के.सी.ले पानसमा दीप प्रज्वलन गरेर गर्नुभएको थियोे भने प्रमुख अतिथि र कार्यक्रमका अध्यक्षले उपन्यासकार बिष्णा विरहीलाई टीका, दोसल्ला, माला र मेडल लगाइदिएर सम्मान गर्नुभएको थियो ।

साथै कार्यक्रममा प्रमुख अतिथि, समालोचकहरू र पुस्तकका सम्पादकलाई मायाको चिनो प्रदान गरिएको थियो । मायाको चिनो पाउनु हुनेमा प्रा. डा. सुरेन्द्र के. सी., उपन्यासकार बिष्णा विरही, सम्पादक विमल भौकाजी, समीक्षकहरु प्रमोद प्रधान र डा. शान्तिमाया गिरीलाई रहनु भएको थियो ।

कार्यक्रममा प्रा.डा. गोविन्दमान सिंह कार्की, नेपाल स्रष्टा समाजका अध्यक्ष श्रीओम श्रेष्ठ रोदन, उपन्यास समाजका अध्यक्ष शंकर भारती, साहित्यकारहरु पवन आलोक, सन्तोष श्रेष्ठ, रत्न श्रेष्ठ, सरस्वती गौतमलगायत विशिष्ट व्यक्तिहरुको उपस्थिति रहेको थियो ।

  • साझा परिवेश
  • शनिबार, कार्तिक ४, २०८० १६:२९

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।