काठमाडौं ।।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले थप १० विमान खरिदका निम्ति तिहारपछि टेन्डर आह्वान गरिने बताएका छन् ।बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रममा मन्त्री किरातीले ठूला–साना गरी थप १० विमान खरिदका निम्ति तिहारपछि टेन्डर आह्वान गरिने जानकारी दिएका हुन् । नेपाल वायुसेवा निगमसँग भएका ३ र नयाँ ३ विमानले २२ आन्तरिक विमानस्थलमा उडान भर्ने उनले बताए।
भूकम्पलगायत अरू घटनाले नेपालमा थप राष्ट्रिय विमानको आवश्यकता पुष्टि भएको उनको भनाइ छ ।मन्त्री किरातीले पर्यटक भित्र्याउन विमान आवश्यक रहेकाले नीति, योजना र इच्छाशक्ति भए ल्याउने अनेक उपाय रहेको उल्लेख गरे । उनले पर्यटकलाई आवश्यकताअनुसार होटेल सञ्चालनमा व्यवसायीलाई राज्यले सहयोग गर्ने पनि बताए ।