काठमाडौं ।।
नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले छिमेकी देश चीनलाई घेरा हाल्न नेपालको भूमि प्रयोग गर्ने कुरा स्वीकार्य नहुने बताएका छन् । चीनमा आयोजित दक्षिण एसिया तथा दक्षिणपूर्वी एसियाका राजनीतिक दलको संवाद कार्यक्रममा चीन विरोधी गतिविधि हुन नदिन प्रतिबद्ध रहेको बताएका हुन् ।
“नेपाल र चीनबीचको सम्बन्ध सदियौँदेखिको गहिरो एवम् इतिहास र संस्कृतिद्वारा बाधिएको छ । एउटा छिमेकी देशका रूपमा हामीले भौगोलिक निकटता मात्र होइन आपसी सहयोग र विकास प्रवर्द्धनको प्रतिबद्धतालाई पनि साझा बनाएका छौँ । हाम्रो मित्रता सम्मान, विश्वास र एक अर्कोलाई सहयोग गर्ने प्रतिबद्धतामा आधारित छ । यो हार्दिक, घनिष्ट र समस्यारहित रहेको छ । समयको क्रमसँगै नेपाल र चीनको सम्बन्ध व्यापार, पूर्वाधार विकास, साँस्कृतिक आदान प्रदान र जनसम्बन्धका विविध क्षेत्रमा विस्तारित छन्,” नेपालले भनेका छन्, “यस क्षेत्रमा शान्ति र समृद्धि हासिल गर्ने लक्ष्य भएको हाम्रो दिगो सम्बन्धलाई कूटनीतिक सम्बन्धले थप बलियो बनाएको छ भने यो मित्रता भौगोलिक सीमारेखा र साँस्कृतिक भिन्नताभन्दा माथि उठेको छ । हामी दुवै एक अर्काको चासो र चिन्ता प्रति सचेत छौँ । नेपाल सदैव एक चीन नीतिको पक्षमा रहेको र नेपाली भूमिमा एवम् नेपाली भूमिबाट चीन विरोधी गतिविधि हुन नदिन प्रतिबद्ध छ ।”
साथै हङकङ, ताइवान लगायतका विषयमा चीन सरकारसँगै रहेको बताएका छन् । नेपालमा आन्तरिक द्वन्द्व चर्काउने, सैन्य तथा सुरक्षा सहयोगमार्फत भूराजनीतिक रूपमा चीनलाई घेरा हाल्न हाम्रो भूमि प्रयोग गर्ने कुनै पनि काम स्वीकार नगरिने बताए । “हङकङ, ताइवान लगायतका विषयमा हामी चीन सरकारसँगै रहेका छौँ । पछिल्लो समयमा समाजवादी चीनलाई आर्थिक तथा सुरक्षाका विभिन्न माध्यम प्रयोग गरी घेरा हाल्ने एवम् कमजोर बनाउने कतिपय क्रियाकलापप्रति हामी सचेत छौँ । नेपालमा आन्तरिक द्वन्द्व चर्काउने, सैन्य तथा सुरक्षा सहयोगमार्फत भूराजनीतिक रूपमा चीनलाई घेरा हाल्न हाम्रो भूमि प्रयोग गर्ने कुनै पनि कामलाई हामीले स्वीकार गर्न सक्दैनौँ,” नेपालले भनेका छन् ।