मोरङको बेलबारी, भाउन्ने, मंगलबारे, कानेपोखरी जंगल आसपासको क्षेत्रमा हात्तीका बथान देखिएको जिल्ला प्रहरी कार्यालय मोरङका डीएसपी रञ्जन दाहालले बताए । २४-२५ वटा हात्तीको बथान बस्ती छेउछाउ देखिने गरेका छन् । बस्तीमा पसेर किसानको बालीमा क्षति पुर्याउन थालेपछि प्रहरीले स्थानीयसँगको सहकार्यमा गस्ती गरिरहेको उनले बताए । हात्ती आएको सर्वसाधारणलाई जानकारी दिन र सम्भावित दुर्घटना र क्षति रोक्नका लागि गस्ती गरेको डीएसपी दाहालले बताए । वन क्षेत्रबाट बस्तीमा पस्न खोज्ने हात्ती धपाउन सशस्त्र प्रहरी बल, नेपाल प्रहरी र वन सुरक्षाको टोली साइरनसहित खटिएको छ ।
हात्तीको आगमन बाक्लिएपछि बेलबारीको बेलबारी चिसाङ साझेदारी वन उपभोक्ता समूहले घाँस दाउरा गर्नका लागि जंगल नजान सर्वसाधारणलाई आग्रह गरेको छ ।कात्तिक अन्तिम साता पूर्वी नाका बाहुनडागी हुँदै भारतबाट नेपाल छिरेका हात्ती पछिल्लो समय मोरङ र सुनसरीको वन क्षेत्रमा देखिएका छन् । भारत हुँदै झापाको बाहुनडाँगीबाट प्रवेश गरेको हात्तीको बथान हुम्सेदुम्से हुँदै मोरङको उर्लाबारी, लेटाङ, मिक्लाजुङ, बेलबारी, कानेपोखरी, केराबारी, पथरी क्षेत्रमा आएको छ । सुनसरीको तरहरा र कोशी टप्पु क्षेत्रमा पनि जंगली हात्तीको बथान देखिएको छ ।
हात्ती विज्ञ डा. अशोक रामका अनुसार आहारा खोज्दै जंगलबाट निस्किने हात्ती बस्ती पस्दा जोखिम हुन्छ । मानवीय असावधानीकै कारण हात्तीको आक्रमणमा सर्वसाधारण परिरहेको उनले बताए । उनका अनुसार भारत हुँदै बाहुडाँगीबाट कोशी टप्पुसम्म हात्तीहरु धेरै पहिले देखि नै आवतजावत गर्थे । ‘पहिले धेरै वन थियो, चारकोसे झाडी थियो र हात्ती आएको जानकारी हुँदैनथ्यो’, उनले भने, ‘हात्तीको बासस्थानको अतिक्रमण, खानेकुराको अभाव भयो, हात्ती हिँड्ने बाटोको अतिक्रण भयो ।’
भारतबाट कात्तिक-मंसिर र जेठ–असारको समयमा हात्तीहरु नेपाल प्रवेश गर्ने देखिएको छ । हात्तीविज्ञ रामका अनुसार यो समय प्रजननको बेला पनि भएका कारण भाले हात्ती धेरै आक्रामक हुन्छन् । पछिल्ला केही वर्षयता मेची खोला तरेर भारतबाट ठूलो बथान नेपाल आएको थिएन । ‘फाट्टफुट्ट आएका हात्ती पनि चुलाचुली, माइखोलासम्म आएर फर्किएका थिए’, उनले भने, ‘यसपालि असार ताका एउटा ग्रुप कोसी नदीसम्म आयो, अहिले फेरि देखिएको छ ।’
हात्तीविज्ञ रामका अनुसार सन् १९७४ मा भारतबाट ठूलो बथान नेपाल आएको थियो । त्यतिबेला ठूलो प्रयास गरेर उक्त बथानलाई भारत नै फर्काइएको थियो । बथानमा आएका हात्ती लखेट्न खोज्दा धेरै दुर्घटना भएको उनले बताए । ‘सुरुमा लखेट्छन्, जोस देखाउँछन्, जब हात्तीले चार्ज गर्छ त्यसबेला भाग्न सक्दैनन्’, उनले भने, ‘हाम्रोमा जनचेतनाको अभाव पनि छ । जुन क्षेत्रमा हात्ती देखिएका छन् त्यो क्षेत्रमा जनचेतना जगाउनुपर्छ ।’