काठमाडौं ।।
प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौंवासीका लागि मेलम्ची खानेपानीको व्यवस्था गर्न नसकेको भन्दै सरकारको आलोचना गरेका छन् । अध्यक्ष ओलीले मुहान सफा गरेर वा अन्यत्र सारेर भए पनि सरकारले काठमाडौंवासीका लागि मेलम्ची खानेपानीको व्यवस्था गर्न ढिलाइ गर्न नहुने बताए ।
पार्टीको झुलाघाट–चिवाभञ्ज्याङ यात्राको क्रममा आइतबार सिन्धुपाल्चोकको मेलम्चीमा आयोजित कार्यक्रममा ओलीले आफ्नो पार्टीको नेतृत्वमा सरकार नभएको भए मेलम्चीको पानी काठमाडौंमा पुग्ने अवस्था नै नहुने दाबी समेत गरे ।
“मेलम्ची आयोजनाको कुरा हामीलाई थाहा छ । नेकपा (एमाले) को सरकार हुँदैन थियो भने मेलम्चीको पानी काठमाडौंमा झर्ने नै थिएन” ,ओलीको भनाइ थियो । उनले अगाडि थपे, “म तपाईंहरूलाई भन्न चाहन्छु- तपाईंहरू निराश हुनुपर्दैन, अहिलेको अवस्था हेरेर । यस्ता सरकारहरू आउँछन्, जान्छन् । गठबन्धनहरू बन्छन्, भत्किन्छन् । कुनै ठूलो कुरा होइन । तर, हामी हाम्रो देश बिग्रन दिँदैनौँ ।”