काठमाडौं ।।
सुर्तीजन्य पदार्थको बिक्री वितरणमा रोक लगाएको काठमाडौं महानगरपालिकाले बिहीबारदेखि पसलहरुमा अनुगमन सुरु गरेको छ । महानगरपालिकाले सुर्ती, खैनी, गुट्खा, पान परागजस्ता मुखमा राखेर रस लिने सुर्तीजन्य पदार्थको बिक्री वितरणमा रोक लगाएको छ । उक्त निर्णय कार्यान्वयन गर्न महानगर प्रहरीको टोलीले किराना पसल, पान पसल र चिया पसलमा अनुगमन सुरु गरेको छ ।
काठमाडौँ महानगरपालिकाले यसै वर्ष जारी गरेको जनस्वास्थ्य ऐनको दफा ४२ मा सुर्ती तथा मदिराजन्य पदार्थ बिक्री वितरणमा रोक लगाउन वा निषेध गर्न सक्ने व्यवस्था छ । उक्त व्यवस्था विपरीत सुर्तीजन्य पदार्थ बिक्री गरेको वा नगरेको अनुगमन गर्न महानगर प्रहरीको १०/१० जनाको समूह पूर्व, पश्चिम, मध्य र उत्तर क्षेत्रमा खटिएको छ । त्यस्तै एक टोली महानगरको केन्द्रबाट खटिनेछ । योबाहेक सादा पोशाकमा नगर प्रहरी र कर्मचारी पनि अनुगमनमा खटाएको छ ।