विराटनगर ।।
मोरङ कारागारमा विराटनगर-१० का ४८ वर्षीय कैदी चण्डेश्वर सहनीको मृत्यु भएको छ । सहनीले भुक्तान गर्नुपर्ने कैद अवधि आजै सकिँदै थियो । तर, कारागार बाहिर निस्कने दिन नै उनको मृत्यु भएको हो । जेल प्रशासनका अनुसार उनका ‘पेट दुख्ने र श्वास प्रश्वाससम्बन्धी समस्या देखिएको थियो । दुई दिनअघि मात्र विराटनगरस्थित कोसी अस्पताल भर्ना गरिएको थियो । उपचारकै क्रममा सोमबार बिहान पौने ७ बजे उनको निधन भएको मोरङ कारागारका निमित्त जेलर कृष्णहरि न्यौपानेले बताए । परिवारका अनुसार सहनी २०७९ माघ १७ गतेदेखि कैद भुक्तान गर्दै आएका थिए ।
लेनदेन मुद्दामा जिल्ला अदालत मोरङले २०७८ मंसिर २० गते १० महिन २२ दिन कैद सजायको फैसला गरेको थियो । उनी २०७९ माघ १७ गते पक्राउ परेका थिए । त्यसअघि फरार थिए । परिवारले भने स्वास्थ्यमा समस्या आएपछि पनि जेल प्रशासनले जानकारी नगराउँदा राम्रो अस्पतालमा लगेर उपचार गर्न नपाएको गुनासो गरेको छ । यसअिघ मोरङको लेटाङ नगरपालिका-४ का ३७ वर्षीय कैदी केशरबहादुर भुजेलको पनि मृत्यु भएको थियो । त्यो घटना शंकास्पद भएको भन्दै परिवारले शव नउठाएपछि जिल्ला प्रशासन कार्यालयले छानबिन समिति गठन गरेको थियो । मोरङ कारागारमा एक हजार ४४ जना कैदीबन्दी छन् । तीमध्ये पुरुष ९४८, महिला ८९ र नावलक ७ जना छन् ।