काठमाडौं ।।
सरकारले दक्ष प्रसूति सेवाका लागि सन् २०३३ सम्ममा दुई हजार ६०० भन्दा बढी मिडवाइफ नर्स (प्रसूतिका लागि तालिम प्राप्त नर्स) उत्पादन गर्ने लक्ष्य राखेको छ । स्वास्थ्य क्षेत्रको लैंगिक समानता तथा सामाजिक समावेशीकरण रणनीति २०८० मा यो लक्ष्य राखिएको हो ।
रणनीतिमा सन् ३०३३ सम्ममा देशभर २ हजार ६५३ मिडवाइफ नर्स उत्पादन गरिने उल्लेख छ । नेपाल नर्सिङ परिषद्को तथ्यांकअनुसार हाल देशभर ६६ जना मात्रै मिडवाइफ नर्स छन् । सन् २०३३ सम्ममा हाल सेवारत नर्सबाट एक हजार ३८० जनालाई मिडवाइफ नर्समा रुपान्तरण गरिने उल्लेख छ । त्यसैगरी पीसीएल तहका ९०० र स्नातक तहका मिडवाइफ ३७३ पुर्याउने लक्ष्य छ ।
मिडवाइफको संख्या वृद्धिसँगै मातृ र नवजात शिशु मृत्युदर घट्ने अपेक्षा राखिएको छ । नेपाल जनसांख्यिक तथा स्वास्थ्य सर्वेक्षण २०२२ (एनडीएचएस) अनुसार प्रत्येक एक हजारमा २१ जना शिशुको जन्मिएको एक महिनाभित्र मृत्यु हुने गरेको छ । मातृ मृत्युदर हाल १५१ रहेकोमा यो संख्या सन् २०३३ सम्म ७० मा झार्ने सरकारको लक्ष्य छ ।