April 28, 2024 | आइतवार, बैशाख १६, २०८१
सुचनाहरु
नेपाल र वेस्ट इन्डिज ए बीचको टी-२० सिरिजको पहिलो खेल आज इलाममा प्रमुख दलका उम्मेदवारले गरे मतदान डढेलो तथा आगलागी पीडितलाई राहत दिन ढिलाइ गरिएको छैन: गृहमन्त्री गृहमन्त्रीविरुद्ध सर्वोच्च अदालतमा युवराज सफलले पेस गरेको रिट निवेदन दरपीठ उपनिर्वाचन: मतदानको दिन कस्ता सवारी चलाउन पाइन्छ? क्रोएशियामा राजदूतावास खोल्न माग अढाई वर्षकी बालिकालाई बेचेको आरोपमा एक महिला पक्राउ टियुमा अभ्यास गर्दै वेस्ट इन्डिज ए टिम ( तस्विरसहित ) सरकारी जग्गा व्यक्तिको नाममा गर्नेविरुद्ध आरोपपत्र दायर कोका–कोला ब्रान्डेड प्लास्टिक प्रदूषणको विश्वको सबैभन्दा ठूलो उत्पादक छिट्टै काँग्रेस–एमालेको सरकार बन्नुपर्छ : सुनिल शर्मा तान्जानियामा बाढीका कारण १ सय ५५ जनाको ज्यान गयो उपनिर्वाचनका लागि मतदान केन्द्रको व्यवस्थापन धमाधम काठमाडौंको न्युरोडबाट १ केजी ७६८.२५ ग्राम सुन र १ करोड ४३ लाख ६० हजार नगदसहित ७ जना पक्राउ इलाम र बझाङमा हुने उपनिर्वाचनका लागि सुरक्षा तयारी पूरा प्रधानमन्त्रीसँग चिनियाँ अन्तराष्ट्रिय विकास सहयोग एजेन्सीका अध्यक्षको शिष्टाचार भेट काठमाडौंको रेन्बो कलेजबाट कक्षा १२ परीक्षा दिने नक्कली परीक्षार्थी पक्राउ सुनचाँदीको मूल्य बढ्यो फेरि बढ्याे काठमाडौँकाे वायु प्रदूषण आईपीएल : आज कोलकोता र पञ्जाव खेल्दै

राप्ती बस दुर्घटनाका घाइते भन्छन्– भाग्यले बाँच्यौँ

  • साझा परिवेश
  • आइतवार, पुस २९, २०८० 0८:१५
राप्ती बस दुर्घटनाका घाइते भन्छन्– भाग्यले बाँच्यौँ

जानकी । “लमहीमा खाना खाएर बस चढेपछि म निदाएछु, ब्युझिँदा अस्पतालको बेडमा थिएँ । दुर्घटना भएर उद्धार गर्दासम्म मैले केही थाहा पाइनँ”, कोहलपुरस्थित नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पतालको शय्याबाट बाँके नरैनापुरका नफिस बेहेनाले पीडा सुनाए।

नरैनापुर गाउँपालिका–३ बालापुरका १९ वर्षीय बेहेना वैदेशिक रोजगारीका सिलसिलामा कतार जाने तयारीस्वरुप स्वास्थ्य परीक्षणका लागि काठमाडौँ जाँदै थिए । तर दुर्घटना कुन बेला र कसरी भयो तथा कसरी उद्धार भयो भन्ने उनलाई केही थाहा छैन । दुर्घटनामा परी नफिसको देब्रे हात, ढाड र मुखमा चोट लागेको छ ।

सोही दुर्घटनामा परी घाइते भएका बसका सहचालक शङ्कर थारू पनि सोही अस्पतालमा उपचाररत रहेका छन्् । थारूले चालक लालबहादुर नेपालीले भालुवाङमा रहेको प्रहरी ‘इन्ट्री पोस्ट’मा दर्ता नगरी तीव्रगतिमा बस कुदाएपछि दुर्घटना भएको बताए ।

“भालुवाङस्थित प्रहरीको इन्ट्री पोस्टमा दर्ता गर्ने ठाउँमा आइपुग्दा रातिको त्यस्तै साढे १० बज्नै लागेको थियो । हामीभन्दा अगाडि अर्को गाडीको दर्ता हुँदै थियो, गुरुजीलाई अल्छी मान्नुभयो कि के हो, उहाँले बस नरोकी अगाडि कुदाउनुभयो”, सहचालक थारूले भने, “कुदाउने क्रममा बस अनियन्त्रित भइ नदीमा खस्यो ।”

बस नदीमा खस्दा आफू होसमै रहेको थारूले बताए । “म क्याबिनमै थिएँ । बस एक्कासी नदीमा खस्यो । त्यतिबेला मलाई खासै चोट लागेको जस्तो त लागेको थिएन । तर नदीबाट बाहिर आएपछि भने श्वास फेर्न गाह्रो भयो”, अघिल्लो रातको घटना सम्झँदै उनले भने । बस नदीमा खसेको केहीबेरमै यात्रुको उद्धार सुरु भएको उनले सुनाए । सहचालक थारूले चालक लालबहादुर नेपालीको मापसे तथा लापसे सेवन गर्ने बानी नरहेको दाबी गरे ।

दुर्घटनामा परी घाइते भएकी भारत बहाराइच जिल्लास्थित रुपैडिहा मटेराकी २० वर्षीया छोटी पथ्थरकट्टाको पनि कोहलपुर मेडिकल कलेजमा उपचार भइरहेको छ । उनी श्रीमान् राहुल पथ्थरकट्टा र बाबु चेतराम पथ्थरकट्टासँगै काठमाडौँमा रहेकी दिदी सङ्गीता पथ्थरकट्टालाई भेट्न जाँदै थिइन् ।

“म श्रीमान् र बुवा तीनजना दिदीलाई भेट्न काठमाडौँ जाँदै थियौँ । काठमाडौँमा जाडोयामभर सिलौटा र झाटो बेच्ने र केही पैसा कमाएर घर फर्कने भनेर दिदी भिनाजुसँग हाम्रो कुरा भएको थियो, दुर्घटनामा हामी भाग्यले बाँच्यौँ”, छोटी पत्थरकट्टाले भनिन् ।

नेपालगञ्जबाट काठमाडौँ जाँदै गरेको यात्रुवाहक बस गए राति दाङको भालुवाङस्थित राप्ती नदीमा खस्दा दुर्घटना भएको थियो । दुर्घटनामा परी घाइतेमध्ये १३ जनालाई उपचारका लागि कोहलपुरस्थित नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पतालमा ल्याइएको थियो ।

इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख प्रहरी नायब उपरीक्षक सुन्दर तिवारीका अनुसार १३ जनामध्ये पाँच जना उपचारपछि घर फर्किसकेका छन् भने आठजनाको उपचार जारी छ । घाइतेमध्ये कालीकोटका तिलकप्रसाद उपाध्यायको अवस्था गम्भीर रहेको अस्पतालले जनाएको छ ।

दुर्घटनापछि घाइतेलाई पाँचवटा एम्बुलेन्समार्फत राति नै सो अस्पतालमा ल्याइएको थियो । सल्यान निवासी २८ वर्षीय बस चालक लालबहादुर नेपालीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरीले चालकको लापरवाहीका कारण दुर्घटना भएको प्रारम्भिक निष्कर्ष निकालेको छ । भे १ ख ३९१२ नम्बरको माउन्टेन एयर न्यू बस नदीमा खस्दा १२ जनाको मृत्यु भएको छ ।

  • साझा परिवेश
  • आइतवार, पुस २९, २०८० 0८:१५

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट