इलाममा घर कोठा भाडामा खोज्ने बहानामा सुनचाँदीका गरगहना चोरी गर्ने एक भारतीय नागरिक पक्राउ परेका छन् ।
सोमबार सूर्योदय नगरपालिका-१० का ४७ वर्षीय हेमकुमार श्रेष्ठको घरमा कोठा खोज्ने बहानामा आएका पश्चिम बङ्गाल दार्जिलिङका ३० वर्षीय देवब्रत रायले कोठा भित्र गएर दराज खोली दराजभित्र रहेको सुन, चाँदी र नगद चोरी गरी भाग्दै गरेको अवस्थामा पक्राउ परेका थिए ।
उनलाई स्थानीय र प्रहरी चौकी फिक्कलबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो । पक्राउ परेका उनको साथबाट प्रहरीले सुनका विभिन्न प्रकारका गरगहना ६ तोला ८ सय ५ ग्राम, चाँदीका गरगहना १० तोला ८१ लाल र नगद ९ हजार बरामद गरेको थियो । चोरीको सामानसहित पक्राउ परेका उनलाई जिल्ला प्रहरी कार्यालय इलाममा राखेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।