काठमाडौँ । साफ यू-२० च्याम्पियनसिप फुटबल अन्तर्गत घरेलु टोली नेपालले आज समूहको दोस्रो तथा अन्तिम खेलमा बङ्गलादेशसँग प्रतिस्पर्धा गर्दै छ । खेल सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा दिउँसो ३ बजे सुरु हुनेछ ।
समूह एबाट यसअघि नै सेमिफाइनलमा स्थान पक्का गरिसकेका यी दुई टोली बीचको खेलले समूह ए को विजेता टुङ्गो लाग्नेछ । पहिलो खेलमा नेपालले श्रीलङ्कालाई १-० ले पराजित गरेको थियो । त्यसपछि अर्को खेलमा बङ्गलादेशले श्रीलङ्कालाई २-० ले हराएपछि नेपाल र बंगलादेश एक खेल अघि नै सेमिफाइनल पुगेका हुन् । श्रीलङ्का भने समूह चरणबाटै बाहिरिइसकेको छ ।
बङ्गलादेशको गोल अन्तर राम्रो रहेकोले नेपालसँग बराबरी खेले पनि समूह ए को विजेता बन्ने छ । नेपालको लागि भने समूह विजेता बन्न बङ्गलादेशलाई हराउनै पर्ने छ । समूह बीमा रहेको भारतसँगको सम्भावित सेमिफाइनल भेट टार्नका लागि नेपाल समूह एको विजेता बन्ने लक्ष्यमा हुने छ । समूह बीमा शुक्रवार हुने भारत र माल्दिभ्सबीचको समूहको अन्तिम खेलपछि सेमिफाइनल समीकरण तय हुनेछ ।
६ टोलीलाई दुई समूहमा विभाजन गरेर च्याम्पियनसिप खेलाइएको छ र दुवै समूहबाट शीर्ष दुई टोली सेमिफाइनल पुग्नेछन् ।