आन्दोलन समितिका कार्यवाहक संयोजक डा. जगमान गुरुङले चैत्र १५ गतेको घटनामा पक्राउ परेका नेता रिहा नगरे सामूहिक गिरफ्तारी दिने भन्दै सरकारलाई चेतावनी दिएका छन ।
बुधबार काठमाडौंमा आयोजित प्रतिबद्धता सभामा बोल्दै गुरुङले तीनकुने घटनामा पक्राउ परेकालाई वैशाख २१ गतेसम्म रिहाइका साथै नवराज सुवेदीको नजरबन्द फुकुवा नभए वैशाख २२ गते सामूहिक गिरफ्तारी दिने घोषणा गरे।
सामूहिक गिरफ्तारीको अगुवाई आफूले गर्ने उनले बताए । गुरुङले अब आफूहरूको आन्दोलन भ्रद्र अवज्ञा हुने उल्लेख गरे ।
अहिले सशस्त्र आन्दोलनको आवश्यकता नरहेको उनको भनाइ छ । गुरुङले राजावादीको आन्दोलन कमजोर भएको हल्ला फैलाइएको भन्दै आफूहरू योजनामा व्यस्त रहेको उल्लेख गरे । उनले वैशाख २१ देखि एक्सनमा जाने जिकिर गरे ।