नेपाल बाल मन्दिरको जग्गा भाडा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भएको छ । जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौँले बुधबार जिल्ला अदालत काठमाडौँमा १७ जनाविरुद्ध मुद्दा दर्ता गरेको हो । उपप्रधानमन्त्री प्रकाशमान सिंहकी दिदी एवं बाल मन्दिरकी तत्कालीन अध्यक्ष रीता सिंह वैद्य, उपाध्यक्ष तुलसी नारायण श्रेष्ठ, गणेशभक्त श्रेष्ठ, कृष्णशंकर शाह, श्यामकुमार आले, सुवासकुमार पोखरेल, प्रचण्डराज प्रधान, रामकाजी कोने, योगेन्द्रबहादुर शाही, दिपकदास श्रेष्ठ, प्रवीणराज जोशी र मुरारीनिधि तिवारी, पुरुषोत्तमराज जोशी, श्रद्धा सेढाईँ, अमिन सिंहानियाँ, सिद्धार्थ केडिया र कीर्तिप्रसाद पाण्डेविरुद्ध मुद्दा दायर गरिएको हो ।
२०२१ सालमा राष्ट्रिय निर्देशन ऐनअनुसार ११९ रोपनी १२ आना ३ पैसा जग्गामा नेपाल बाल सङ्गठन (बाल मन्दिर) स्थापना भएको थियो । जसमध्ये २८ रोपनी ५ आना जग्गा २०५९ सालमा बृहस्पति विद्या सदनलाई भाडामा दिइएको थियो । २०८९ सालसम्म तीस वर्षका लागि भाडामा दिने सम्झौता भए पनि समयावधि सकिनुभन्दा १७ वर्षअघि नै २०७२ सालमा थप ४३ वर्षका लागि अर्थात् वि.सं. २१३१ सम्मका लागि सो जग्गा लिजमा दिइएको थियो ।
यसरी कौडीको भाउमा मिलेमतोमा बिना प्रतिस्पर्धा लिजमा लगाइ अपचलन गरी व्यापारिक समूहलाई लाभ हुने र सरकारलाई नोक्सान हुने गरी लिजमा लगाइएको आरोपमा उजुरी परेपछि उक्त घटना बाहिर आएको थियो ।