भारत र पाकिस्तानबीच तनाब बढेपछि सशस्त्र प्रहरी बलले सीमा क्षेत्रमा उच्च सतर्कता अपनाएको जनाएको छ । दुई देशबीचको तनावको मौका छोपेर नेपाल–भारत सीमा क्षेत्रबाट हुनसक्ने अवैध घुसपैठ रोक्नका लागि एपीएफ हाई अलर्टमा बसेको हो । सशस्त्र प्रहरी बलका सहायक प्रवक्ता नायब उपरीक्षक शैलेन्द्र थापाले पछिल्लो समय विकसित क्षेत्रीय सुरक्षा परिस्थितिलाई मध्यनजर गर्दै सीमा क्षेत्रमा उच्च सतर्कता अपनाएको जानकारी दिए ।
अनाधिकृत घुसपैठ नियन्त्रण र निगरानीका लागि सीमा क्षेत्रमा पर्ने सबै बाहिनीपतिहरुलाई प्रधान कार्यालयबाट विशेष निर्देशन दिइएको उनले बताए । बाहिनी मुख्यालयहरुले सोही अनुसार सुरक्षा योजना बनाएर कार्यान्वयन गरेका पनि उनले विज्ञप्तिमा उल्लेख गरेका छन् ।
‘सीमा ईलाकामा आवश्यकता अनुसार आवतजावत गर्नेहरुको परिचय पत्र चेकजाँच गरेर अभिलेख राख्ने कार्य समेत भइरहेको छ,’ ‘सम्भावित संकित स्थानहरुमा निगरानी एवं चेकजाँच तथा सुक्ष्म रुपमा खबर संकलन कार्य समेत गरिराखेको छ ।’ उनले भनेका छन् ।