धनगढी । बाघको आक्रमणबाट कञ्चनपुरमा एक महिलाको मृत्यु भएको छ। बाघको आक्रमणबाट कञ्चनपुर पुनर्वास नगरपालिकाकी एक महिलाको मृत्यु भएको हो।
नेपाल–भारत सीमामा पर्ने भारतको दुधुवा नेशनल पार्कमा बाघको आक्रमणबाट पुनर्वासकी ३२ वर्षीया कलसा सार्कीको मृत्यु भएको प्रहरीले जनाएको छ।
शुक्रबार बिहान दुधुवा नेशनल पार्कमा मेलापातका लागि गएकी सार्कीमाथि बाघले आक्रमण गरेको थियो। पुनर्वास नगरपालिका–१० मदनटोलकी सार्की गाउँकै स्थानीयसँग मेलापातका लागि गएकी थिइन्। मेलापातका लागि गएका बेला बाघले आक्रमण गरेर महिलाको मृत्यु भएको इलाका प्रहरी कार्यालय त्रिभुवनवस्तीका प्रहरी निरीक्षक नरेशराज मल्लले बताए।
उनको शव भारततर्फको वन क्षेत्र एसएसबी क्याम्प कुवा नम्बर ८ को पूर्व क्षेत्रमा भेटिएको कुण्डा सवडिभिजन वन कार्यालय पचकडिया, कञ्चनपुरका प्रमुख सहायक वन अधिकृत दिनेश कुमार यादवले जानकारी दिए।
बिहान ७ जनाको महिलाको समूहमा भारतको दुधवा नेशनल पार्कमा घाँस काट्न गएका भए पनि अन्य महिला भने बाघको आक्रमणपछि भागेका थिए।