राजविराज | सप्तरीको छिन्नमस्ता गाउँपालिकास्थित बरही विरपुर टोलका राजदेव रायको चार पुस्ता जमिनदारको खेतमा हलो जोतेर जीविकोपार्जन गर्दै आएको छ ।
सरकारले गत साउन २ मा हरूवाचरवा प्रथा अन्त्यको घोषणा गर्दा ५५ वर्षीय राय खुसी थिए । तर, पछिल्लो ९ महिनासम्ममा सरकारले पुनःस्थापनातर्फ ध्यान नदिएको भन्दै हरवाचरवा अहिले संघर्षमा उत्रिएका छन् ।
आन्दोलनको घोषित कार्यक्रम अनुसार शनिबार हरवाचरवा अधिकार यात्राअन्तर्गत राजविराजबाट प्रदेश राजधानी जनकपुरसम्मको पैदल मार्च सुरु गरेका छन् । अर्को टोलीले भने वीरगन्जबाट जनकपुरतर्फ पैदल मार्च सुरु गरेको छ । यी दुवै टोली जनकपुर आइपुगेपछि प्रदेश सरकारको मुख्यालय मधेश भवन अगाडि अधिकारका लागि प्रदर्शन गर्ने कार्यक्रम छ ।
पैदल मार्चमा निस्केका उनीहरू सोमबारसम्म जनकपुर पुग्ने बताइएको छ । ‘पैसावालालाई नै पैसा हुन्छ । हामी दलितले केही पाउँदैनौं,’ बरही विरपुरकी सञ्जुदेवी खंगले भनिन्, ‘सरकारले हरवाचरवा अन्त्यको घोषणा गर्दा पनि केही नहुँदा हामीले पैदल मार्च गर्दै सरकारको ध्यान केन्द्रित गराउन चाहेका छौं । सरकारलाई आफनो समस्या सुनाउन चाहेका हौं ।’
पुस्तौंदेखि अरूको जग्गामा मजदुरी गरेर जीविकोपार्जन गर्दै आएका हरवाचरवाले आफ्नो अधिकारका लागि एकैपटक राजविराज र वीरगन्जबाट मधेश प्रदेशका राजधानी जनकपुरसम्मका पदयात्रा सुरु गरेको जनाएका छन् ।
हरवाचरवालाई बस्ने जग्गा घरदेखि उच्च शिक्षा तथा रोजगारीसम्मको समस्या छ । पुनस्थापनाका लागि विस्तृत कार्ययोजना र कार्यविधि मन्त्रिपरिषद्बाट अविलम्ब पारित गरी जीविकाका लागि कम्तीमा १० कट्ठा जग्गा उपलब्ध गराउने, वैकल्पिक रोजगारीमा सहभागी गराउने तथा संविधानको धारा ५१ (६) कार्यान्वयन गर्ने भनी सरकारले हरवाचरवासँग सहमति गरेको थियो । तर, सहमति कार्यान्वयन हुन नसकेको भन्दै आन्दोलन थालेको आन्दोलनका अगुवाको भनाइ छ ।
जनकपुरमा भेला भएपछि आमसभा तथा प्रदेश सरकारलाई ज्ञापनपत्र दिँदै समीक्षा बैठक गरी थप दबाबका लागि काठमाडौंसम्मको पैदल यात्राको कार्यक्रम तय गरिने हरवाचरवा अधिकार मञ्चका महासचिव लागेन्द्र सदाले जानकारी दिए ।
मधेश प्रदेशका आठवटै जिल्लासहित मोरङ, सुनसरी, नवलपरासी, रूपन्देही र कपिलवस्तुमा अहिले पनि हरवाचरवा प्रथा कायम छ । यी जिल्लामा झन्डै १ लाख ५० हजार हरुवाचरुवा रहेको हरवाचरवा अधिकार मञ्चले जनाएको छ ।