जापानका प्रधानमन्त्री फुमियो किशिदामाथि हमला भएको छ। जापानी सञ्चारमाध्यमका अनुसार प्रधानमन्त्री किशिदाले भाषण गरिरहेका बेलामा उनीमाथि स्मोक बम प्रहार भएको हो।
घटना देशको पश्चिमी शहर वाकायामामा शनिबार बिहान भएको हो।
एक प्रत्यक्षदर्शीका अनुसार उनले एक व्यक्तिलाई केही फ्याँकिरहेको देखे जसबाट पछि धुवाँ निस्किरहेको थियो। सोही क्रममा केहीले ठूलो बमको आवाज सुनेको पनि बताएका छन्।
रिपोर्टका अनुसार प्रधानमन्त्री नजिक पाइपजस्तो वस्तु फ्याँकिएको थियो।
प्रहरी अधिकारीले एक शंकास्पद एक व्यक्तिलाई पक्राउ गरेका छन्।
समाचार एजेन्सी रोयटर्सका अनुसार विस्फोटको आवाज सुनेपछि प्रधानमन्त्री किशिदालाई सुरक्षा घेरामा राखिएको थियो।
रिपोर्टका अनुसार प्रधानमन्त्री किशिदाले सेकजाई बन्दरगाहको भ्रमण गरिसकेपछि भाषण सुरु गरेका थिए। सोहीबेला यो घटना भएको हो।
गत वर्ष जुलाईमा देशका पूर्वप्रधानमन्त्री सिन्जो आबेको गोली हानी हत्या भएको थियो।