धनगढी, वैशाख ५ गते । नेपाली कांग्रेसका नेत्री एवम् प्रतिनिधि सभा सदस्य डा. आरजु राणा देउवाले कैलालीको धनगढी उपमहानगरपालिकामा निर्मित विभिन्न संरचनाको उदघाटन गर्नुभएको छ । मङ्गलबार उहाँले धनगढी नमूना माध्यमिक विद्यालयको ३६ कोठे भवनसहित बेहडाबाबा मन्दिर परिसरमा निर्मित विभिन्न संरचना, तौलाहा ताल संरक्षणका लागि निर्मित संरचनाको उदघाटन गर्नुभएको हो ।
धनगढी उपमहानगरपालिका –१६ स्थित बेहडाबाबा मन्दिर परिसरमा सङ्घीय सरकार र धनगढी उपमहानगरपालिका गरी तीन करोड ९४ लाख तीन हजार रुपियाँ लगानीमा विभिन्न संरचना निर्माण गरिएको छ । धार्मिक पर्यटकीयस्थलको रुपमा परिचित मन्दिर परिसरमा रिटेनिङ वाल, पर्खाल निर्माण र ब्लक लगाउने कार्य भएको जनाइएको छ । श्री एसपी कन्स्ट्रक्सन कम्पनी प्रालि. काठमाडौंले ठेक्का पाएर निर्माणको काम गरेको थियो । बेहडाबाबा मन्दिरको दर्शनका लागि गङ्गा दशहरा मेलामा भारतीय तीर्थालुको समेत घुइँचो लाग्ने गरेको छ ।
यसैगरी, धनगढी उपमहानगरपालिका –८ धनगढी गाउँमा रहेको तौलाहा तालमा निर्मित संरचनाको पनि नेत्री देउवाले उदघाटन गर्नुभएको छ । तौलाहा तालको संरक्षण र पर्यटन विकास गर्ने उद्देश्यले संरचना निर्माण गरिएको छ । धनगढी उपमहानगरपालिकाको दुई करोड ३४ लाख ८५ हजार रुपियाँ लगानीमा ताल वरिपरि संरचना निर्माण गरिएको छ । रोयल–पवन जेभीले ठेक्का पाएर संरचना निर्माणको काम गरेको थियो ।
२०७६ असारमा ठेक्का भई काम अगाडि बढाइए पनि बीचमा विवादका कारण काम रोकिएको थियो । विवाद मिलेपछि यसै वर्ष निर्माणको काम सम्पन्न गरिएको थियो । सो अवसरमा सुदूरपश्चिम प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री प्रकाशबहादुर देउवा, प्रदेश सभा सदस्य रमेश धामी, धनगढी उपमहानगरपालिकाका प्रमुख गोपाल हमाललगायतको उपस्थिति थियो ।