तानसेन । लैङ्गिक हिंसामा महिला सबैभन्दा बढी पर्ने गरेको देखिएको छ । तानससेनमा आयोजीत कार्यक्रममा वक्ताहरुले सो कुरा बताएका हुन् । महिला हिंसा निवारणको अभियानलाई प्रभावकारी बनाउन सामाजिक तथा राजनीतिक क्षेत्रका युवासँग अन्तरक्रिया कार्यक्रममा आज वक्ताहरुले सो कुरा बताएका हुन् ।
महिला भएकैकारण विभेद गर्ने हिसाबले अघि बढेको र राज्यले यसलाई गम्भीर रुपले नहेर्दा महिलाले धेरै हिंसामा पर्नेगरेको तानसेन नगरपालकिाका उपप्रमुख प्रतिक्षा गाहा सिंजालीले बताउनुभयो । उहाँले भन्नुभयो, “पछिल्ला दिनमा पुरुषको उन्माद झन बढ्दो छ, मानिस शिक्षा र चेतनाले सभ्य हुनुपर्नेमा झन् असभ्य र हिंस्रक बन्दैगएको छ ।”
‘समयजस्तै प्रगतिशील र विकसित हुँदैछ, महिला हिंसाको स्वरूपमा झन् अमानवीय र क्रूर बढ्दैगएको छ, प्रेमको बहानामा शरीरमा तेजाब हालिदिनेसम्मको निकृष्ट घटना समाजमा भइरहेको छ’ सिंजालीले भन्नुभयो ।
यस्तै, प्रमुख जिल्ला अधिकारी बन्दुप्रसाद बास्तोलाले महिलामाथि हुने हिंसा लैङ्गिक समानता हासिल गर्ने बाटोको तगारो, दिगो विकासको बाधक बनिरहेको बताउनुभयो । उहाँले भन्नुभयो, “महिला हिंसाका कारण महिला र बालिकाको समुन्नत जीवन जिउन पाइरहेका छैनन् । हिंसा प्रभावितको स्वास्थ्य, भावना, मनोविज्ञान, शारीरिक सुरक्षा र आत्मसम्मानमा समेत नकारात्मक प्रभाव पारिरहेको छ ।”
कार्यक्रममा राष्ट्रिय महिला आयोगका सदस्य सावित्राकुमारी शर्मा, जिल्ला समन्वय समीतिका प्रमुख टंकनाथ खनाल, जिल्ला समन्वय समितिका उपप्रमुख काशिका ज्ञवाली, जिल्ला अस्पताल पाल्पाका अध्यक्ष गुँरास आत्रेय, पत्रकार मिलन बिक, युवा नेता सुशासन सिंह डाँगी, रिब्दिकोट गाउँपालिका –२ का सदस्य गीता पाण्डेले महिलाविरुद्ध हुने हिंसाले महिलाको व्यक्तित्व विकास र प्रगतिको बाधक बनिरहेको बताउनुभयो ।
परिवार र सिङ्गो समुदायको सामाजिक, आर्थिक र राजनीतिक विकासमा पूर्ण योगदान दिनबाट रोक्ने र यस्ता हिंसाले सामाजिक विभाजनको मुद्दालाई प्रोत्साहन गर्नुका अतिरिक्त शान्ति, विकास र समुन्नतिमा बाधा सिर्जना गर्ने बताउनुभयो ।
बलात्कार, घरेलु हिंसा, यौन उत्पीडन, एसिड आक्रमण, प्रजननमा जबर्जस्ती, महिला शिशु हत्या, भू्रण हत्या, प्रसूति हिंसा, दाइजोका कारण हिंसा, अपहरणद्वारा विवाह र जबर्जस्ती विवाह, बालविवाह, बहुविवाह, कुटपीट, मानसिक यातना आदि हिंसामा पर्छन् ।