काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का पूर्व सांसद ढाकाकुमार श्रेष्ठले दायर गर्नुभएको रिटमा आज (सोमबार)सर्वोच्च अदालतमा सुनुवाइ हुँदैछ ।
गत चैत २४ गते श्रेष्ठले आफूमाथि गरिएको कारबाही गैरकानुनी भएको भन्दै सांसदमा पुनर्वहाली गर्नुपर्ने माग राख्दै सर्वोच्चमा मुद्दा दर्ता गर्नुभएको थियो । उक्त मुद्दामाथि न्यायाधीश तिलप्रसाद श्रेष्ठको एकल इजलासमा आज सुनुवाइ हुन लागेको हो ।
मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग गरेको फोन संवादको अडियो सार्वजनिक भएपछि रास्वपाको केन्द्रीय समिति बैठकले साधारण सदस्य समेत नरहने गरी श्रेष्ठलाई कारबाही गरेको थियो ।
रास्वपाको सिफारिस अनुसार श्रेष्ठको पद रिक्त भएको सूचना संसद् सचिवालयले जारी गरिसकेको छ । पार्टीको निर्णयविरुद्ध असन्तुष्टि जनाउँदै श्रेष्ठ सर्वोच्च अदालत जानुभएको हो ।