इनरुवा । विराटनगरको नोबेल अस्पतालभित्र एक जना बलात्कार आरोपी झुन्डिएको अवस्थामा मृत भेटिएका छन् । १३ वर्षीय छोरीमाथि करणी गरेको आरोपमा पक्राउ परेका पुरुष बुधबार मृत भेटिएका हुन् । मोरङ प्रहरीका प्रवक्ता डीएसपी रन्जनकुमार दाहालका अनुसार अस्पतालको बुधबार बिहान शौचालयभित्र झुन्डिएको अवस्थामा मोरङको मिक्लाजुङका ३३ वर्षीय पुरुष भेटिएका हुन् ।
उनी बुधबार बिहान ५ः२० बजेतिर शौचालय छिरेका थिए । शौचालयबाट ननिस्किएपछि हेर्दा शौचालयको ढोका भित्रबाट बन्द गरी चुकुलको हेन्डिलमा झुन्डिएको अवस्थामा भेटिएका थिए । मृतकले आफैले लगाएको हरियो कपडा (गाउन)को पासो लगाएको देखिएको प्रहरीले बताएको छ । हाडनाता करणीको आरोपमा प्रहरीले उनलाई जेठ १२ गते पक्राउ गरेको थियो ।
अदालतबाट म्याद थप गर्नलाई जिल्ला सरकारी वकिल कार्यालय मोरङ ल्याएको समयमा पनि उनले आत्महत्या प्रयास गरेका थिए । प्रहरीका अनुसार जेठ १४ गते आइतबार दिउँसो २ बजेतिर घाँटी रेटेर आत्महत्याको प्रयास गरेपछि म्याद थप नगरी उपचारका लागि आफन्तको जिम्मा लगाइएको थियो ।
सरकारी वकिल कार्यालयको थुनुवा कक्षको शौचालयमा फलामले घाँटी रेटेर आत्महत्या प्रयास गरेका उनलाई उपचारका लागि कोसी अस्पताल हुँदै नोबेल मेडिकल कलेज लगिएको थियो ।