काठमाडौं । गम्भीर तनावपूर्ण सम्बन्ध रहेका विश्वका दुई ठूला अर्थतन्त्र अमेरिका र चीनबीचको तनाव कम हुन अझै केही समय लाग्ने देखिएको छ।
जारी तनावपूर्ण सम्बन्धका बीच अमेरिकी विदेशीमन्त्री एन्टोनी ब्लिंकनको चीन भ्रमणले केही सहजता ल्याउने आकलन गरिएको थियो। अझ उनले चिनियाँ राष्ट्रपति सी चिनफिङसँग गरेको भेटवार्ताले अमेरिका–चीन सम्बन्धमा ‘आइसब्रेक’ हुने कतिपयको आकलन पनि थियो।
तर विदेशीमन्त्री ब्लिंकनले चिनियाँ राष्ट्रपति भेटेको भोलिपल्ट नै अमेरिकी राष्ट्रपति जो बाइडनले दिएको अभिव्यक्तिले भने भेटवार्ता खासै उपलब्धिपूर्ण नरहेको संकेत गरेको छ।
अमेरिकी विदेशमन्त्री ब्लिंकनले सोमबार बेइजिङको ग्रेट हल अफ पिपुलमा सीसँग भेटवार्ता गरेका थिए। त्यसको भोलिपल्ट अर्थात् मंगलबार अमेरिकी राष्ट्रपति बाइडनले सीलाई ‘तानशाह’ भनेका छन्।
मंगलबार राति क्यालिफोर्नियामा भएको एउटा चन्दा संकलन कार्यक्रममा बाइडनले चिनियाँ जासुसी बलुन अमेरिकी आकाशमा उडाएको हालैको घटनाका कारण सी लज्जित भएको बताए।
‘सी चिनफिङ धेरै दु:खी हुनुको कारण के थियो भने जब मैले त्यो बेलुनलाई खसाले त्यसमा २ बाकस जासुसी उपकरण थिए, उनलाई त्यो त्यहाँ थियो भन्ने थाहा थिएन। जब के भएको भन्ने उनीहरूलाई थाहा हुँदैन, त्यो तानाशाहहरूका लागि लाजमर्दो कुरा हुन्छ,’ बाइडनको भनाइ थियो।
अमेरिकी विदेशमन्त्रीसँगको भेटवार्तापछि चिनियाँ राष्ट्रपति सीले ‘केही प्रगति’ भएको बताएका थिए। अमेरिकी विदेशमन्त्री ब्लिंकनले भने दुवै पक्ष थप वार्ताका लागि खुला रहेको संकेत गरेका थिए।
तर बाइडनले भने बेइजिङ वार्ताको ‘प्रगति’बारे केही उल्लेख गरेनन्। बेइजिङले पनि बाइडनको पछिल्लो टिप्पणीबारे हालसम्म कुनै प्रतिक्रिया दिइसकेको छैन।
विश्वका दुई ठूला महाशक्ति (अमेरिका र चीन) लामो समयदेखि व्यापार, मानवअधिकार, ताइवान लगायत विभिन्न मुद्दाका कारण विवादमा अल्झिँदै आएका छन्। –एजेन्सीहरुको सहयोगमा