काठमाडौं ।।
नेपाली कांग्रेसका नेता एवं काठमाडौं क्षेत्र नं. ५ का सांसद प्रदीप पौडेलले सामाखुशी क्षेत्रमा तत्काल ढल व्यवस्थापन गर्न माग गरेका छन् ।प्रतिनिधिसभाअन्तर्गतको पूर्वाधार विकास समितिको बैठकमा सांसद पौडेलले सामाखुशी क्षेत्रमा बाढीका कारण हरेक वर्ष मानवीय क्षती हुने गरेको भन्दै सरोकारवालाहरुलाहरुको ध्यानाकर्षण गराए ।
चक्रपथ विस्तारका क्रममा भइरहेको काम वर्षा लागेपछि रोकिँदा सामाखुशी क्षेत्र डुबानमा परेकाले तत्काल त्यहाँको ढल व्यवस्थापन गर्नुपर्नेमा पौडेलले जोड दिए । ढलको उचित व्यवस्थापन गरेर विष्णुमतिमा पानी पुर्याए सामाखुशी खोलामा जाने करिब ४० प्रतिशत पानी व्यवस्थापन हुने र त्यसले सो क्षेत्रलाई डुबानबाट बचाउन सहिने उनको भनाइ थियो ।
जेठ मसान्तअघि सो क्षेत्रमा ढल व्यवस्थापन गरि पानी विष्णुमतिमा पुर्याउने काम भइरहे पनि असार पछि रोकिँदा समस्या आउने भन्दै आफूले ध्यानाकर्षण गराएको भए पनि त्यसतर्फ धयान नपुगेको उनले गुनासो गरे ।
बाटोनै खोलाजस्तो भएपछि १३ वर्षका साजन मगर बाटोमा हिड्दा हिड्दै साउन ७ गतेबाट बेपत्ता भएको भन्दै सांसद पौडेलले बेपत्ता बालकको खोजी कार्यमा तिव्रता दिन पनि सरोकारवालाको ध्यानाकर्षण गराए ।
चक्रपथ विस्तारको योजना भौतिक योजना मन्त्रालयसँग जोडिएको भन्दै पौडेलले तत्काल सडकमा राखिएका ढल व्यवस्थापन गर्न माग गरे । ढल बग्ने गरि ‘खाल्डो खनेर ह्युम पाइप अस्थायी रुपमा राख्ने वयवस्थापन तत्काल गरियोस्,’ पौडेलले भने, ‘बेपत्ता बालकको खोजी र उनको परिवारलाई क्षतिपूर्ति दिइयोस् । म यहि अनुरोध गर्न चाहन्छु ।’