बझाङ – थलारा गाउँपालिका–३ कुचकी धिर्जादेवी कामीले दशैँ, तिहारका लागि छिमेकीबाट मागेर खाइनखाइ जम्मा गरेको खाद्यान्न भूकम्पमा परेर पुरियो । अहिले उहाँको चार जना परिवारको बास खुला आकाशमुनि छ । अहिले खेतबारीबाट अन्न भित्र्याउने समय हो तर उहाँसँग खेतबारी पनि छैन । ‘छिमेकीसँग मागेरै जीविका चलाउँदै आएकी थिएँ । सबै कुरा भूकम्पमा पुरियो’, घरतिर हेर्दै गहभरी आँसु पारेर धिर्जादेवीले आफ्नो पीडा सुनाउनुभयो ।
तत्काल घर पुनःनिर्माण गर्नसक्ने उहाँको क्षमता छैन । बिहान–बेलुकाको छाक टार्नका लागि वर्षभरि छिमेकीको काम गर्नुपर्ने, मजदुरी गर्नुपर्ने अवस्था उहाँको परिवारको छ । ‘कल्पनामा पनि फेरि घरभित्र बस्न पाउँछौँ भन्ने आश छैन’, धिर्जादेवी भन्नुहुन्छ, ‘भूकम्पमा घर भत्किएपछि सान्त्वना दिन र घरको अवस्था बुझ्न धेरै मानिस आएका छन् । सामूहिक रूपमा खाना खाएर गुजारा गरिरहेका छौँ । झन्डै ३० परिवार एउटै भान्छामा खाना खाइरहेका छौँ । कसले खाना दिन्छ भन्ने पनि थाहा छैन ।’
सधैँ जस्तै यस वर्ष पनि घरभित्रै बसेर टीका लगाउने, रमाइलो गर्ने सपना थियो । मागेरै भए पनि मिठो खाएर एक दिन शान्तिसँग बस्ने चाहाना थियो । तर असोज १६ गते गएको भूकम्पका कारण घर ढलेपछि दशैँ हाम्रा लागि दशा बनेर आएको छ’, उहाँले थप्नुभयो ।
धिर्जादेवी कामीको छिमेकी जलादेवी दमाईँको पनि अवस्था उस्तै छ । उहाँको परिवारमा १० जना छन् । जलादेवीलाई पनि दशैँ कसरी मनाउने भन्ने चिन्ता छ । ‘भूकम्पले घर तहसनहस पारेपछि मनमा शान्ति छैन । हामीले दशैँ आएको अनुभूति गर्न पाएका छैनौँ । खुला आकाशमुनि बसेर रात गुजार्नै गाह्रो छ । दशैँ त हाम्रा लागि दशा बनेर आयो । चिसो बढ्दै छ । वरपर खुला छ । धन्न कुन संस्थाले त्रिपाल दिएर गए । त्यही त्रिपालको सहारामा बसिरहेका छौँ ।’
जनप्रतिनिधि आएर घर पुनःनिर्माण गरिदिने आश्वासन दिए पनि कहिले बन्ने भनेर थाहा नभएको धिर्जादेवी बताउनुहुन्छ । ‘आफैँले घर पुनःनिर्माण गर्नसक्ने क्षमता छैन । एक छाक खानका लागि त दिनभरी मजदुरी गर्नुपर्ने हुन्छ । कसरी घर बनाउन सक्छौँ ? त्यत्रो घर बनाउन न आफूसँग सीप छ न आयस्रोत नै, कसरी बन्छ घर ?’, उहाँले भन्नुभयो ।
थलाराकै हंशादेवी दमाईँले दशैँ मनाउनका लागि जमरा राख्ने ठाउँ पनि नरहेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘रमाइलो गर्ने, टीका लगाउने रहर कसलाई हुँदैन र ? त्यस्तो गर्नका लागि त भाग्यमा लेखेर ल्याउन पर्दो रहेछ । जेनतेन टाउको लुकाउन र ओत लाग्न मिल्ने घर थियो । भूकम्पमा घर भत्किएपछि त्रिपालमुनिको बास भएको छ । घरभित्र जमरा राख्ने चाहना थियो तर भूकम्पले खुला आकाशमुनिको बास भएको छ ।’
थलारा गाउँपालिकामा मात्रै नभई खप्तडछान्ना गाउँपालिका, मष्टा गाउँपालिका, जयपृथ्वी नगरपालिका, केदारस्युँ गाउँपालिका लगायतका भूकम्प पीडितको दशैँ त्रिपालमुनि हुने भएको छ । विभिन्न गैरसरकारी सङ्घ–संस्थाले त्रिपाल, कम्बल लगायतका सामान उपलब्ध गराए पनि पालिका, प्रदेश र सङ्घीय सरकारले केही राहत नदिएको भूकम्प पीडितको गुनासो छ ।
गएको असोज १६ गते बझाङमा भूकम्प जाँदा जिल्लाभरी दुई हजार चार सय ४५ घर पूर्णरूपमा क्षति भएको जिल्ला विपद् व्यवस्थापन समितिका अध्यक्ष तथा प्रमुख जिल्ला अधिकारी नारायण पाण्डेयले जानकारी दिनुभयो । यस्तै छ हजार ८४ घरमा आंशिक क्षति भएको र तीन हजार पाँच सय २४ घरमा सामान्य क्षति पुगेको उहाँले बताउनुभयो । भूकम्पका कारण घर भत्किएपछि आठ हजारभन्दा धेरै परिवार अझै त्रिपालकाे सहारामा बसिरहेका छन् ।
सबैभन्दा बढी थलारामा छ सय ६४ घर पूर्णरूपमा क्षति भएको प्रमुख जिल्ला अधिकारी पाण्डेयले बताउनुभयो । उहाँका अनुसार जयपृथ्वीमा चार सय ८२, बुंगल नगरपालिकामा ७३, तलकोट गाउँपालिकामा २५, मष्टामा चार सय १०, छविसपाथिभेरामा एक सय ५०, दुर्गाथली गाउँपालिकामा एक सय ८४, खप्तडछान्नामा दुई सय ४५, केदारस्युँमा दुई सय छ, बिथ्थडचिर गाउँपालिकामा छ घर पूर्णरूपमा क्षति भएको छ ।