काठमाडौं ।।
त्रिभुवन अन्र्तराष्ट्रिय विमानस्थल (टीआईए) मा उडान – अवतरण चाप बढेको छ । दसैँयता अन्तर्राष्ट्रिय उडान – अवतरण दैनिक औसतमा एक सय उडान भइरहेको विमानस्थलका प्रवक्ता सुवास झाले जानकारी दिए । प्रवक्ता झाका अनुसार, आन्तरिकतिर दैनिक औसतमा २७५ देखि २८० उडान -अवतवरण हुन्छन् । रोजगारी वा अध्ययनका लागि विदेशमा गएका नेपालीहरु दसैँ, तिहार, छठ लगायतका पर्व मनाउन फर्किने र पर्यटकीय सिजनका कारण उडान संख्या बढेको प्रवक्ता झा बताउँछन् ।
उडानका संख्या बढेसँगै एयर ट्राफिकमा पनि चाप बढेको छ । जसले गर्दा केहिलेकाहीँ उडान-अवतरणमा ‘डिले’ हुने प्रवक्ता झाले बताए । यसवर्ष अन्तर्राष्ट्रिय र आन्तरिक गरी दुवैतिर उडान संख्याले रेकर्ड तोडेको छ । यसअघि सिजनको समयमा अन्तर्राष्ट्रियतिर औसतमा ८०-८५ र आन्तरिकतिर २३० – २४० उडान-अवतरण हुने गरेको थियो । पछिल्लो समय हवाईमार्ग हुँदै यात्रा गर्ने यात्रु बढेका छन् ।
पहिलेका २० सिटे क्षमताका जहाज थिए । तर, पछिल्लो समय ७२ सिटे जहाजहरुले उडान भरिरहेका छन् । “पहिले १८, २० सिटे जहाज हुन्थ्ये । धेरैजसो ७२ सिटे जहाज छन् । फ्लाइट संख्या कम हुँदा पनि यात्रुको संख्या बढेको छ,” प्रवक्ता झाले भने, “त्यहीमाथि फ्लाइट संख्यामा पनि उल्लेखनीय वृद्धि हुँदा हवाई मार्ग हुँदै यात्रा गर्ने यात्रुको संख्या बढेको छ । ” त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा तीन नेपालीसहित ३१ वायुसेवा कम्पनीले अन्तर्राष्ट्रिय उडान गर्दै आइरहेका छन् । आन्तरिकतिर १२ हेलिकोप्टर कम्पनीसहित २० वायुसेवा कम्पनीले उडान गर्दै आइरहेका छन् ।