मोरङ ।।
मोरङको उर्लाबारी नगरपालिका-७ स्थित दीपक कार्कीको घरमा भएको आगलागीमा ३२ जना घाइते भएका छन् । ३२ मध्ये चारजना सिकिस्त घाइते रहेको मोरङ प्रहरीका प्रवक्ता रञ्जन दाहालले बताए । गम्भीर घाइतेहरुमा स्थानीय कुमार तामाङ, तपन पण्डित , विक्रम शाह र रुकुमबहादुर कार्की रहेका छन् । उर्लाबारी नगरपालिका-७ बरगाछीस्थित दीपक कार्कीले आफ्नै घरमा सञ्चालन गरेको सुन पसलमा राति साढे १० बजेतिर आगलागी भएको थियो । आगो निभाउने क्रममा आगोको लप्कामा परी घाइते भएकाहरुको झापा र मोरङका विभिन्न अस्पतालमा उपचार भइरहेको छ । घाइतेमध्ये सिकिस्त अवस्थाकालाई काठमाडौंमा थप उपचारका लागि लैजान लागेको डीएसपी दाहालले बताए । सुन पसलभित्र रहेको एलपी ग्याँस सिलिन्डर विस्फोटबाट आगलागी भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।
आगलागीबाट पसलमा कति क्षति भयो भन्ने यकिन भएको छैन । आगो लागेको घरको माथिल्लो तलमा रहेकाहरुको उद्धारका लागि गएका प्रहरीमध्ये चार जना पनि घाइते छन् । त्यसैगरी, आइतबार राति नौ बजेतिर शनिमन्दिर नजिक अनुज लाखेको घरमा आगलागी भएको थियो । आगलागी हुनसाथ तत्कालै दमक र प्रहरीले आगो नियन्त्रणमा लिएको थियो । आगलागीमा परी मानवीय क्षति नभएको र धनमाल करिब २५ लाखको क्षति भएको डीएसपी दाहालले बताए । उर्लाबारी आगलागीका घाइतेको उपचारमा कोशी प्रदेश सरकारले समन्वय गरेको छ । थप उपचारका लागि काठमाडौं लग्न पर्ने घाइतेका लागि अस्पतालसँग प्रदेश सरकारले समन्वय सुरु गरेको मुख्यमन्त्री केदार कार्कीले जानकारी दिए ।