काठमाडौं । चार देशीय टी-ट्वेन्टी सिरिजमा नेपाली राष्ट्रिय महिला क्रिकेट टिम २७ रनले पराजित भएको छ।
हङकङको क्रिकेट क्लबको मैदानमा आज भएको खेलमा तान्जानियाले प्रस्तुत गरेको एक सय १६ रनको लक्ष्य भेट्न नसकेपछि नेपाल पराजित भएको हो।
आजदेखि सुरु भएको पहिलो खेलमा तान्जानियाले टस जितेर पहिले ब्याटिङ रोजेको थियो। तान्जानियाको ओपनिङ जोडीले १७ रनको साझेदारी गरे। कप्तान फातुमा ११ रन बनाएर आउट भएकी थिइन्। सबैभन्दा उत्कृष्ट खेलाडी फातुमा आउट भए पनि नेपालले तान्जानियालाई एक सय रनअघि समेट्न सकेन।
तान्जानियाकी सुमा एमटेले १६ रन बनाइन्। हुडा ओमरीले २५ र आइशा मोहमदले २१ रन बनाएर तान्जानियाको इनिङ्स उकासेका थिए। तान्जानियाले पूरा २० ओभरमा सात विकेट गुमाएर एक सय १५ रन बनायो।
जवाफमा नेपालले खराब ब्याटिङ गर्यो। नेपाल १६ ओभर चार बलमा ८८ रन बनाएर अलआउट भयो।
दोस्रो विकेटका रुपमा सम्झना खड्का आउट हुँदा नेपालको खातामा तीन रन मात्र थियो। ओपनर बिन्दु रावल र सम्झना शून्यमै आउट भएका थिए। अर्की ओपनर पूजा महतोले पनि तीन रन मात्र जोड्न सकिन्।
काजल श्रेष्ठले ९ र कप्तान इन्दु बर्माले १५ रनको योगदान दिइन्। तर रुबीना क्षेत्री शून्यमै आउट भइन्। तर सातौं नम्बरमा मैदान प्रवेश गरेकी सीता रानामगरले नेपालको इनिङ्स अघि बढाइन् । उनी ४३ रन बनाएर आउट हुनु नेपालका लागि दुर्भाग्य बन्यो। बाँकी खेलाडीले राम्रो प्रदर्शन गर्न सकेनन्। तान्जानियाका सोफिया जेरोमेले तीन विकेट लिँदा निमा पिउसले दुई विकेट लिइन्। त्यसैगरी पेररी जकायो, आइशा मोहमदले समान एक-एक विकेट लिए।