काठमाडौं ।।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सिंहदरबारको पश्चिम मोहोडाको पुरानै कार्यकक्षको प्रयोग सुरु गरेका छन् । २०७२ सालको भूकम्पपछि प्रयोगविहीन भएको पश्चिम मोहोडाका कार्यकक्षसहित बिलासी हलहरुको समेत प्रयोग सुरु भएको हो । बुधबार एक कार्यक्रमका बीच प्रधानमन्त्री पुष्पकमल दाहालले प्रचण्डले कार्यालयको स्थानान्तरणले नयाँ गति पक्रिने र सबैको एकता अझै बलियो हुने विश्वास व्यक्त गरे । ‘हामी प्रधानमन्त्रीको कार्यालय सिंहदरबारकै पछिल्लो भागबाट अघिल्लो भागमा सारिएकोका छौं । यो ठाउँ मात्रै सारिएको होइन, कामको प्रकृति र गुणपनि अब नयाँ ढंगले
जाने संकल्प पनि गरेको छु,’ उनले भने,‘ १२० वर्ष पुरानो यो भवनलाई त्यसको मूल संरचना जस्ताको त्यस्तै राखेर भूकम्पबाट जुन क्षति भएको थियो, त्यसको प्रवलीकरण भएको छ ।’ प्रचण्डले अघि भने,‘ अहिले बसिरहेको ठाउँमा अलि गुम्म परेको, फ्रेस नभएको जस्तो लाग्थ्यो, यो ठाउँमा चाहि सबैतिर देखिने, बरन्डातिर पनि हेर्न पाइने, स्पेस पनि अली ठूलो भएकाले बढी दिमाग फुर्छ होला भन्ने अपेक्षा गरेको छु ।’ २ वर्षभित्र सक्ने गरी लगाइएको पुनर्निर्माणको ठेक्का करिब साढे ४ वर्षपछि सकिएसँगै प्रधानमन्त्रीले भूकम्पअघिकै कार्यकक्ष प्रयोग थालेका हुन् । अब प्रधानमन्त्रीको कार्यकक्षसँगै पुरानै स्वरुपमा पुनर्निर्माण भएका स्टेट हल र बेलायती कक्ष पनि प्रयोगमा आउने अधिकारीहरु बताउँछन् ।]