काठमाडौं ।।
नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई मिसन-०८४ छाडेर भिजन ०९५ मा लाग्न आह्वान गरेका छन् । अछाम कांग्रेसको कार्यक्रमलाई सोमबार सम्बोधन गरेका शर्माले ०८४ मा हुने नियमित चुनावमा आ-आफ्नो दललाई मत त्यसबेला नै माग्नुपर्ने भन्दै १०/१५ वर्षमा देश कस्तो बनाउने भन्ने खाका प्रस्तुत गर्न चुनौती दिए ।
“आगामी १५ वर्षपछि देशलाई कहाँ पुर्याउने त्यो विषयमा दलहरूले चिन्ता गरौँ न,” महामन्त्री शर्माले भने, “सरकार त आउँछ जान्छ, हिँड्ने बाटो र पुग्ने लक्ष्य प्रष्ट भए जताबाट गए पनि पुगिन्छ । तर, देशलाई निश्चित अवधिमा पुर्याउने कहाँ हो त्यसको लक्ष्य निर्धारण र हासिल गर्ने बाटो महत्वपूर्ण हुन्छ ।” उनले ओली र लामिछाने दुवैले मिसन ०८४ भनिरहेको भन्दै त्यसको के अर्थ छ भनेर प्रश्न समेत उठाए । केही दिनअघि ओली मिसन ०८४ भन्दै अछाम पुगेको भन्दै उनले ओलीप्रति व्यङ्ग्य समेत गरेका थिए ।
“दुई–तीन दिनअघि तपाईंहरूको जिल्लामा मेरो जिल्लावासी, बडेबडे झापाली आउनुभएको थियो । तपाईंहरूलाई रमाइलो भयो कि नरमाइलो थाहा भएन । बडेबडे झापालीको मूल लक्ष्य मिसन ०८४ भन्नुभएको छ,” ओलीको नाम नलिइकन शर्माले भने, “एउटा नयाँ पार्टी रवि लामिछानेजीको नेतृत्वमा संसद्मा उभिएको छ, उसले पनि मिसन ०८४ भन्दैछ । मिसन ८४ भनेको के हो ? के कांग्रेसले २००७ सालमा राणाशासन छलेर जनतालाई स्वतन्त्रता दिएको जस्तै हो ?”
०८४ सालमा नियमित चुनाव मात्र हुने र त्यसले एउटा नयाँ सरकार दिने उनको भनाइ थियो । “न २००७ सालको क्रान्ति, न हिंसाबाट शान्ति’ जम्माजम्मी ०८४ मा चुनाव हुन्छ, चुनाव हुने कुन ठूलो कुरा भयो ? चुनाव पहिला पनि हुन्थ्यो, अब पनि हुन्छ,” शर्माले भने, “अब्बल विद्यार्थी त्यो होइन, जसले परीक्षाको चिन्ता गर्छ । अब्बल विद्यार्थी त्यो हो जसले पढाइको चिन्ता गर्छ ।”
उनले जिम्मेवार राजनीतिक दलले चुनावको नभएर देशको र नागरिकको भविष्यको चिन्तन गर्नुपर्ने भन्दै ओली र लामिछानेलाई चुनावको शुभकामना दिएका थिए । “०८४ सालको चुनावको ओलीजी र लामिछानेजीलाई शुभकामना छ,” शर्माले भने ।
उनले कांग्रेस मिसन ०८४ को घोषणा र चुनावी चिन्तामा नरहेको बताए । “०८४ को वैशाखतिर चुनाव घोषणा होला, चुनावको चिन्ता त्यतिबेला नै गरौंला,” शर्माले भने, “तर अहिलेलाई हामीले ०८० को चिन्ता गरौँ । बाटो, बिजुली के–के गर्न बाँकी छ, काम गर्दै जाऔँ । मंगलसेनको दरबार किन बनेन भनेर जनताले सोधिरहेछन्, अब त्यो पनि ०८४ पछि खोज्ने त ? यस्तो कुरा हुँदैन ।”