काठमाडौं ।।
सामाजिक अभियन्ता सविता उप्रेती ‘अन्तर्राष्ट्रिय साहसी महिला पुरस्कार-२०२३’ बाट सम्मानित भएकी छन् । अटिजम भएका बालबालिकाको सेवामा लामो समयदेखि काम गर्दै आएकी उनलाई भारतीय मानवअधिकार परिषद्ले सो सम्मान प्रदान गरेको हो । अन्तर्राष्ट्रिय मानवअधिकार दिवसका अवसरमा आइतबार भारतको नयाँ दिल्लीमा आयोजित कार्यक्रममा उप्रेतीले ‘इन्टरनेसनल वुमन अफ करेज अवार्ड’ ग्रहण गरिन् ।
अटिजम भएका बालबालिकाको शिक्षामा उल्लेखनीय योगदान गरेबापत उनलाई सो सम्मान प्रदान गरिएको जनाइएको छ । भारतीय मानवअधिकार परिषद्ले मानवअधिकार र शान्तिका निम्ति योगदान पुर्याउने मध्ये एकजनालाई यो पुरस्कार प्रदान गर्दै आएको छ । विगत १३ वर्षदेखि उप्रेतीले विशेष स्कुल र पुनर्स्थापना केन्द्र स्थापना गरी अटिजम भएका बालबालिकाका निम्ति सेवा दिँदै आएकी छन् ।