काठमाडौं ।।
नेपाली कांग्रेस गण्डकी प्रदेश सम्मेलन आजदेखि पोखरामा सुरु हुँदै छ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सम्मेलनको उदघाटन पोखरा सभागृहमा गर्ने छन् । बन्दसत्र भने भोलि पोखरा पार्टी प्यालेसमा हुने छ । नेपाली कांग्रेस गण्डकी प्रदेश सभापति शुक्रराज शर्माका अनुसार सम्मेलनमा पार्टी सभापति देउवासहित पार्टी केन्द्रीय समितिका पदाधिकारीसमेत सहभागी हुनेछन् ।
बन्दसत्रमा गण्डकी प्रदेश कार्यसमितिका सहित पाँच सय जना प्रतिनिधिले भाग लिनेछन् । संघीयतापछि कांग्रेसले पहिलो पटक प्रदेश सम्मेलन गरिरहेको छ । यसअघि गत मंसिर १६ र १७ गते नेपाली कांग्रेसकोे लुम्बिनी प्रदेश सम्मेलन भएको थियो । अब मधेश प्रदेश सम्मेलन पुस ५ र ६ गते, बागमतीको पुस ७ गते र कोशीको पुस ९ गते प्रदेश सम्मेलन हुने नेपाली कांग्रेसले जनाएको छ ।