रामेछापको दोरम्बा शैलुङ गाउँपालिका–३ टोकरपुरस्थित लेकखर्कमा पहिरोमा परेर ६ जनाको मृत्यु भएको छ। गएरातिको अविरल बर्षासँगै आएको पहिरोले घर बगाउँदा ६ जनाको मृत्यु भएको हो।
पहिरोले पुरिएको अवस्थामा घटनास्थलबाट शव निकालिएको प्रहरीले जनाएको छ। घटनास्थलमा पुगेका स्थानीय सिंहराज योञ्जनका अनुसार हालसम्म चण्डिका थापा मगर,आमस थापा मगर, उर्मिला पहरी, सन्दीप पहरी, विज्ञान पहरी, सन्तोष पहरीको शव पहिरोबाट निकालिएको हो।
उनका अनुसार अझै चार जना बेपत्ता रहेकाले खोजी कार्य जारी रहेको छ। पहिरोमा फड्की पहरी, काले पहरी, झ्याउकिरी पहरी, बिन्दा पहरी बेपत्ता रहेका छन्। पहिरोमा परेर घाइते अवस्थामा अञ्जना पहरीको उद्धार गरिएको छ।
अहिले नेपाली सेना, प्रहरी, स्थानीय उद्धार र खोजी कार्यमा जुटिरहेका छन्। पहिरोले ४ वटा घर र दोरम्बा गाउँपालिका वडा नम्बर ३ र २ को बीचमा रहेको पक्की पुल पनि बगाएको छ। पहिरो गएपछि त्रासले टोकरपुरबासी रातभर जागै बसेका थिए। गएरातिको वर्षापछि पहिरो जाँदा वडा नम्बर १,२ र ३ का स्थानीय प्रभावित भएका छन्। यता बाढीले रामेछाप र दोलखाको सिमानामा रहेको मिल्ती खोलाको पुलमा समेत क्षति पुर्याएको छ।