काठमाडौं महानगरपालिकाका जनप्रतिनिधि र कर्मचारीले झन्डै ४ महिनामा तलब पाएका छन् । पछिल्लो तीन महिना रोकिएको तलब सोमबार सबैको खातामा पुगेको छ ।
महानगरका सहायक प्रवक्ता ध्रुवकुमार काफ्ले भन्छन् ‘प्रमुख प्रशासकीय अधिकृत सर कार्यालय फर्किएपछि सबैको तलब आएको छ, ‘अहिले सबैका मोबाइलका घण्टी बजिरहेका छन् । साँझसम्म सबैको तलब आउँछ । बिस्तारै सबै अवरोध हटेर जान्छ ।’
प्रमुख प्रशासकीय अधिकृत नहुँदा महानगरका कर्मचारी र जनप्रतिनिधिको तीन महिनादेखि तलब रोकिएको थियो । रोकिएको तलब पाउन माग गर्दै कर्मचारीहरूले सरकारसँग आक्रोश समेत व्यक्त गरेका थिए ।
गत पुसमा अनधिकृत कार्य गरेको भन्दै गुरागाईं मेयर बालेन्द्र शाह ‘बालेन’ ले बिदामा बस्न लगाएका साथै कार्यालयमा आउन रोक लगाएका थिए । त्यसपछि तलब नपाएको भन्दै महानगरका कर्मचारी जनप्रतिनिधिले बिहीबार मात्रै गुरागाईं कार्यालयमा प्रवेश गराएका थिए । बिहीबार कार्यालय हाजिर गरेका गुरागाईं ले भोलिपल्ट नै कर्मचारी र जनप्रतिनिधिलाई तलब दिन तोक लगाइदिएका थिए ।