ताप्लेजुङको फुङलिङ नगरपालिका १० स्थित काफ्लेपाटी सडक खण्डमा पाथीभरा दर्शनका लागि जाँदै गरेको बोलेरोमा करेन्ट लागेर आगलागी हुँदा ४ जनाको ज्यान गएको छ । गाडीमा सवार अन्य २ जना घाइते भएका छन ।ताप्लेजुङबाट पाथिभरा मन्दिर जाने क्रममा फुङलिङ नगरपालिका १० गुन्द्रे र तेर्सेको छेउमा सडकमा बिजुलीको तार झरी मे १ ज ३०११ गाडीमा आगो लाग्दा ४ जनाको मृत्यु भएको छ।
प्रहरीका अनुसार बिजुलीको तार झरेर गाडीमा आगो लागेको थियो । घटनामा दुई जना घाइते रहेका छन् । उनीहरुलाई हेलिकप्टरबाट काठमाडौँ ल्याउने तयारी गरिएको कोशी प्रदेश प्रहरी कार्यालयका एसएसपी भीम दाहालले बताए ।
एसएसपी दाहालका अनुसार ललितपुरको ललितपुर महानगरपालिका-१० बस्ने ४५ वर्षीया सबिना आचार्यको अवस्था गम्भीर रहेको छ भने उनका छोरा १० वर्षीय भविमय आचार्यको अवस्था मध्यम रहेको छ ।
मृत्यु हुनेमा आचार्यकी छोरी १६ वर्षीया आध्या आचार्य, झापा भद्रपुर नगरपालिका-१५ बस्ने ७० वर्षीय विनोद पौडेल, पौडेलकी श्रीमती ६९ वर्षीया सरिता पौडेल र गाडीका चालक ताप्लेजुङ फुङलिङ नगरपालिका-१० बस्ने ४२ वर्षीय दुर्गा भट्टराई रहेका छन् । कसरी गाडीमा बिजुलीको तार खस्यो भन्ने कुराको अनुसन्धान भइरहेको एसएसपी दाहालको भनाई छ ।