May 27, 2024 | सोमवार, जेष्ठ १४, २०८१
सुचनाहरु
नारायणगढ-मुग्लिन सडकमा चारवटा गाडी ठोक्किँदा १ जनाको मृत्यु, २२ घाइते आइपिएलको उपाधी कोलकाता नाइट राइडर्सले जित्यो आज नेपालले वार्म अप खेलमा क्यानडाको सामना गर्दै विश्वप्रकाशको प्रश्न- महान्यायाधिवक्ताको कार्यालय रास्वपाको भातृ संस्था हो ? संसदको गतिरोध हटाउन एकीकृत समाजवादीले गरायाे प्रधानमन्त्रीकाे ध्यानाकर्षण नारायणगढ–मुग्लिन सडकमा पहिरोमा पुरिएर स्काभेटर चालकको मृत्यु शेयर बजार २२ अङ्कले घट्यो विमानस्थलको पार्किङबाट सुनजस्तो देखिने धातुसहित महिला पक्राउ नाराबाजीका बीच सरकारको नीति तथा कार्यक्रम पारित बजेट वक्तव्य पढ्नुअघि सहमति हुन्छ- प्रधानमन्त्री ‘सहकारी ठगहरुलाई सरकारले जोगायो’ : सांसद चित्र बहादुर केसी विपीले स्थापित गरेको मानकलाई कांग्रेसले लज्जास्पद बनायो- डा. स्वर्णिम वाग्ले आज कति छ सुनचाँदीको मूल्य ? कान्तिपुर अध्यक्ष सिरोहियाको स्वास्थ्यमा समस्या ,अस्पताल भर्ना कस्तो रहला आजको मौसम ? पहिलो अभ्यास खेलमा ह्युस्टन हुरीकेन्स नेपालसग ६ रनले पराजित गायिका अभय सुब्बाले ‘सन्दीपका समर्थकले मलाई अनफ्रेन्ड गर्नु’ भनेपछि राष्ट्रिय सभामा पनि कांग्रेसको अवरोध, बैठक स्थगित दीपेन्द्रले चोटका कारण ह्युस्टनसँगको २ अभ्यास खेल गुमाउने बालेनले संघीय सरकारलाई भने– कि आफैँ काम गर्नु, कि हामीलाई गर्न दिनु

असीको दशकमा सहकारी

  • साझा परिवेश
  • शनिबार, पुस ३०, २०७९ 0९:२४
असीको दशकमा सहकारी

रामचन्द्र उप्रेती

नेपालको सहकारी अभियानले आवरणमा जुन उचाइ प्राप्त गरेको छ त्यो वास्तविक हो कि होइन भन्ने प्रश्न उठेको छ । आवरणमा हेर्दा नेपालको सहकारी अभियानका वितेका ३० वर्ष (२०४९–२०७९) लाई फर्केर हेर्दा निकै उचाइमा पुगेको भान हुन्छ ।

२०५४ सालमा नेपालले अन्तर्राष्ट्रिय सहकारी महासंघ (आईसीए) को सदस्यता प्राप्त गरेको हो । त्यसयता नेपालले क्षेत्रीय र अन्तर्राष्ट्रिय मञ्चहरूमा नेपालको सहकारी अभियानले राम्रो उपस्थिति देखाउन सकेको छ । आईसीएको बोर्ड सदस्यसम्म भइसकेको नेपालको सहकारी अभियानले क्षेत्रीय मञ्चमा त नेतृत्व र पदाधिकारीमा समेत उपस्थिति जनाइसकेको छ ।

यो ३० वर्षमा देश बाहिर नेपाली सहकारीले राम्रै प्रभाव पार्न सफल भयो । देशभित्र भने सहकारीको वास्तविक विकास सन्तोषजनक छैन भन्दा अत्युक्ति हँदैन । यो अवधिमा सहकारीको विकासका लागि दुई पटक ऐन बन्यो (सहकारी ऐन, २०४८ र सहकारी ऐन, २०७४) । दुवै पटक नियमावली आयो । सहकारी मन्त्रालय नै गठन भयो ।

यति मात्रै होइन, अन्तरिम संविधान २०६४ र नेपालको संविधान २०७२ मा नेपालको अर्थतन्त्र तीनखम्बे (सरकारी, निजी र सहकारी) हुने भनेर लेखियो । सहकारी क्षेत्रमा कानुनलाई कार्यान्वयन गर्न र गराउन शक्तिशाली सहकारी विभाग बनाएर रजिष्ट्रारलाई अधिकार दिइयो ।

अनि देश संघीयतामा गएसँगै सहकारीका संरचनालाई पनि संघीयतामा लगियो । पालिका, प्रदेश र संघको गरी तीनै तहका सरकारले सहकारीलाई प्राथमिकतामा राख्ने गरी संरचना बनाइए ।

मुलुकभर ३३ हजार प्रारम्भिक सहकारीहरू बने । प्रारम्भिक सहकारी संस्थालाई नेतृत्व गर्न जिल्ला–जिल्लामा विषयगत र जिल्ला संघ बन्यो । राष्ट्रिय सहकारी संघ र केन्द्रीय विषयगत संघहरू बने । देश संघीयतामा गएसँगै प्रदेशस्तरमा पनि प्रदेश संघहरू बने ।

यता सहकारी क्षेत्रको मात्रै कारोबार गर्ने गरी राष्ट्रिय सहकारी बैंक बन्यो । अनगिन्ती सहकारी अभियन्ता र सहकारी नेताहरूको उदय भयो । करिब ८० लाख मानिस सहकारीका सदस्य बनेको, खर्बौंको पूँजी परिचालन गरेको, दशौं हजारलाई प्रत्यक्ष रोजगारी दिएको अवस्था छ ।

यति मात्रै होइन कि बचत गर्न सिकाएको, सहजै कर्जा उपलब्ध गराएर धेरैको खाँचो, साह्रो–गाह्रो टार्नेदेखि थुप्रैलाई व्यवसायी बनाएको जस सहकारी अभियानलाई छ । यसका अतिरिक्त महिला सशक्तीकरण, सामाजिक एकता र नेतृत्व विकासमा पनि सहकारीको उल्लेख्य योगदान छ । तर यति उपलब्धि हँुदाहुँदै पनि सहकारी क्षेत्रमा राम्रो भन्दा नकारात्मक चर्चा धेरै सुनिन्छ ।

यस्तो किन हुन पुग्यो ?

(क) हाम्रो समाजमा सञ्चारमाध्यमले राम्रो के भयो भन्ने विषयलाई खासै समाचार बनाउँदैनन् । नराम्रो के के भयो त्यो प्रमुख समाचार बन्ने गरेको छ । पाठकले पनि यस्तै सूचना मनपराएको कारण यस्ता नकारात्मक समाचार नै धेरै बिकाउ छन् ।

(ख) विगत तीस वर्षमा राज्य कमजोर भयो, अर्थात् राज्यलाई कमजोर पारियो । आन्तरिक द्वन्द्व र राजनीतिक अस्थिरताका कारण राज्यका सबै क्षेत्रमा सुशासनको अभाव हुनपुग्यो । भएका कानुनको समेत सबल कार्यान्वयन हुन सकेन । यो कमजोरीको फाइदा उठाउँदै केही धूर्त मानिसले सहकारीलाई सजिलो कमाइको माध्यम बनाए ।

यसमा सहकारीका नेता, सञ्चालक, नियामक निकाय सबै मुछिएका छन् । जसले जति सक्छन् सहकारीको नाममा लुट मच्चाउने छुट पाइरहे । यस कारण थुप्रै सहकारी आकारमा ठूला र चमकधमक कारोबार गर्ने गरेको देखिए पनि ती केही सीमित धूर्त व्यक्तिको कमाउने साधनमा सीमित हुन पुगे । जसको कारण धेरै सामान्य मानिस सहकारीको नाममा ठगिए ।

(ग) सहकारीलाई बुझ्दै नबुझी सहकारी चलाउन तम्सेका मानिस सहकारीका सञ्चालक भए र सिक्नभन्दा आफूले मनलागी सहकारी सञ्चालन गर्न पुगे । यस्ता सञ्चालक भएका कतिपय सहकारीहरू सञ्चालकको नियत खराब नभए पनि संस्थाले वित्तीय सन्तुलन गुमाउन पुग्यो र अन्त्यमा सहकारीका सदस्य नै पीडित बन्न पुगे ।

(घ) सहकारीका संघहरू (जिल्लादेखि केन्द्रसम्म) सहकारीको मूल मर्मअनुरूप गठन र पुनर्गठन हुन सकेनन् । त्यसमा अत्यधिक राजनीतीकरण हुनपुग्यो । जसकारण सहकारी नै नबुझेका, सहकारीको मर्मलाई आत्मसात् नगरेका, सहकारीलाई सदस्यको हितमा नभई आफ्नो निहित स्वार्थ पूरा गर्न सञ्चालन गरेका, सहकारी संस्था सञ्चालनै नगरेका, धेरैजसो डुबन्ते र बन्द भएका सहकारीका प्रतिनिधि सहकारीका नेता बन्न पुगे ।

(ङ) सरकारले सहकारीलाई दर्ता गरिदिने र छाडिदिने काम गर्‍यो । सीमित साधनस्रोत र जनशक्तिले यसको नियमन र व्यवस्थापन गर्न सम्भव थिएन र भएन ।
(च) नियामक निकाय भित्रैबाट सहकारीका तमाम विकृतिप्रति आँखा चिम्लिएर यसलाई शुभ–लाभको माध्यम बनाउने गरेको कारण सहकारीको दुरुपयोग गरेर कमाउने धन्दामा लागेकालाई छुटमाथि छुट हुँदै गयो ।

यी र यस्ता कारणले सहकारीमा अपराध गर्ने मानिस दण्डित हुनु परेन र सहकारीमा बेथिति एकपछि अर्को झाङ्गिंदै गयो । यो कारण धेरै सर्वसाधारण सहकारीको सदस्य भएर पीडित हुनपुगे । यसकारणले सहकारीले पुर्‍याएको राम्रो योगदान समेत ओझेलमा पर्न गयो ।

अब के हुन्छ ?

मेरो बुझाइमा असीको दशकको पहिलो आधा समय सहकारीमा राम्रै गोडमेल हुनेछ । सहकारी अभियानमा भएका बेथिति, खराबी, समस्या जेजति छन् ती व्यक्तिका गलत सोच, गलत आचरण र अज्ञानताका कारण उत्पन्न परिणाम हुन् । गलत सोच र गलत आचरण भएका व्यक्तिले सञ्चालन गरेका सहकारी सकिन्छ सुधार्नुपर्छ, सकिंदैन भने विघटन र विसर्जन हुन छाडिदिनुपर्छ ।

अहिले विश्वव्यापी रूपमा देखिएको आर्थिक मन्दीले यसलाई सघाइरहेको छ । खराबहरूको अन्त्य जति चाँडो हुन्छ राम्रो गर्नेहरूका लागि त्यति अनुकूल हुन्छ । समुदायमा आधारित र सदस्यको हितमा सञ्चालित सहकारीहरूले अझै बढी काम गरेर सहकारीको महत्त्व, समस्या, आफ्नो संस्थाको अवस्था आदिका बारेमा सदस्य र समुदायलाई सूचित गरेर संस्थालाई वित्तीय एवम् आर्थिक हिसाबले मात्रै होइन भावनात्मक रूपमा संस्था र सदस्यको सम्बन्ध पनि बलियो बनाउनुपर्छ ।

यो समयमा आउने संकटबाट संस्थालाई बचाएर सबल र सुदृढ बनाउनुपर्छ । सहकारी–सहकारीको एकतालाई मजबुत बनाउन, अनुभवको आदानप्रदान गर्न, समस्याको पहिचान र समाधान गर्न सहकारीका संघहरूमा व्यावसायिक मानिसलाई प्रतिनिधित्व गराएर वा गरेर सहकारी अभियानलाई सबल बनाउन सकिन्छ ।

संकटको बेला कमजोरहरू ढल्छन्, यो प्राकृतिक नियम हो । यस्तो बेलामा होशियार हुनु अहिलेको आवश्यकता हो । प्रतिकूलतालाई सजिलै झेल्न सक्ने स्वस्थ, निरोगी र समयको आवाजलाई सुन्न सक्ने संस्थाहरू सुदृढ एवम् विश्वसनीय भएर अगाडि बढ्नेछन् ।

असीको दशकको पहिलो चार–पाँच वर्षको प्रतिकूलतापछि विश्वसनीय र स्वस्थ सहकारीका लागि अनुकूलता थपिनेछ । सहज वातावरण बन्नेछ । सहकारीसँग तर्सिएका मानिसले पनि सहकारी के हो धेरथोर बुझ्ने मौका पाउनेछन् । वास्तविक सहकारी छानेर सदस्य बन्ने र कारोबार गर्नेछन् ।

सहकारीलाई कमाइखाने भाँडो बनाउने सहकारीका ठगहरूलाई धेरैले चिन्नेछन् । तीमध्येका केही जेलमा हुनेछन्, केही सुटुक्क सहकारी छाडेर भाग्नेछन् । केहीलाई समाजले माफी दिएको हुनेछ । यो पछिको नेपालको सहकारी अभियान पनि वास्तवमा नै आवरणमा देखिए जस्तै व्यापक हुँदै जानेछ । व्यावसायिक बन्नेछ ।

सहकारी अभियानमा लागेका वास्तविक सहकारी अभियन्ताहरू समाजमा सम्मानित हुने अवस्था आउनेछ । सहकारी जसलाई आवश्यक छ उनीहरूको भरोसा र आस्थाको केन्द्र बन्दै जानेछ । जब समाजमा वास्तविक सहकारीहरूले आर्थिक र सामाजिक गतिविधि बढाउँदै लैजान सहज हुन्छ त्यस्तो समाज समुन्नत एवं समृद्ध हुने यात्रामा अगाडि बढ्नेछ ।

(उप्रेती सहकारी अभियन्ता हुन् ।)

  • साझा परिवेश
  • शनिबार, पुस ३०, २०७९ 0९:२४

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट