April 23, 2024 | मङ्लबार, बैशाख ११, २०८१
सुचनाहरु
झापामा ब्राउन सुगरसहित एकजना पक्राउ कतारका राजा नेपालमा, विमानस्थलमा राष्ट्रपति पौडेलद्वारा स्वागत गेस्ट हाउसभित्र महिला र पुरुष मृत भेटिए सहकारी ठगहरूको सम्पत्ति बेचेर भए पनि बचतकर्ताको पैसा फिर्ता गर्छौं : लामिछाने काठमाडौँ आइपुगे कतारका राजा ह्वाट्सएपमा अब इन्टरनेट बिनै फोटो र फाइलहरू पठाउन सकिने अपडेट आउँदै प्रधानमन्त्री दाहालसँग रुसका उद्योगी-व्यवसायीको भेट कतारका अमिरको स्वागतमा फेरियो काठमाडौंको स्वरुप, सुरक्षाकर्मीको बाक्लो उपस्थिति स्वास्थ्यमन्त्री यादव अमेरिका जाँदै ६ जना महिला क्रिकेट खेलाडी मलेसिया प्रस्थान ‘राजसंस्था पुनर्स्थापनामा ढिलो नगरौँ’ : राजेन्द्र लिङ्देन रबि लामिछानेको आठ वर्षअघिको ‘फेसबुक स्टाटस’ भाईरल बनेपछि बल्ल खोले मु ख सुनको मुल्य घट्यो ; कतिमा हुदैछ कारोवार ? गृहमन्त्रीलाई ज्ञानेन्द्रको सुझाव- विदेशी राजाका खुट्टा ढोक्न जानुभन्दा आफ्नै राजा फर्काउन लाग्नुस् अश्लील गतिविधि सार्वजनिक गरिदिने भन्दै ब्ल्याकमेल गर्ने व्यक्ति पक्राउ आज १८औँ लोकतन्त्र दिवस मनाइँदै आईपीएलमा आज चेन्नई र लखनउ खेल्दै नेपाल टूरमा आउने वेस्ट इन्डिज ‘ए’ टिमको घोषणा, आज विशेष हनुमान जयन्ती मोटरसाइकल दुर्घटनामा श्रीमान श्रीमतीको मृत्यु

करिअरको १२ वर्षपछि दिइन् हिट फिल्म

  • साझा परिवेश
  • शुक्रबार, चैत्र ३, २०७९ ११:१९
करिअरको १२ वर्षपछि दिइन् हिट फिल्म

मेहनत गर्नेहरू असफल हुँदैनन्। अभिनेत्री बेनिशा हमाल यसैलाई अनुशरण गर्दै विगत एक दशकभन्दा बढी समयदेखि फिल्म क्षेत्रमा लागिरहेकी छन्।

सन् २०११ मा ‘स्वर’ बाट फिल्मी दुनियाँमा प्रवेश गरेकी उनले त्यसयता ‘कालो पोथी’, ‘ब्लाइन्ड रक्स’, ‘झ्यानाकुटी’, ‘घर’, ‘प्रेमगञ्ज’ लगायत फिल्ममा अभिनय गरिन्। दृष्टिबिहीन अभियन्ता तथा कलाकार सृष्टि केसीको बायोपिक ‘ब्लाइन्ड रक्स’ मा गरेको अभिनयबाट राष्ट्रिय अवार्ड हात पारिन्। उनको कामको तारिफ पनि भयो।

तर उनको कुनै फिल्मले व्यावसायिक सफलता हात पारेन। त्यसैले प्रशंसा पाए पनि फिल्मले राम्रो कमाइ नगर्दा खल्लो लाग्थ्यो उनलाई।

१२ वर्षको फिल्मी करिअरमा यसपालि भने बेनिशाको पोल्टामा हिट फिल्म परेको छ, ‘छक्का पन्जा ४’।

गत फागुन १९ गते रिलिज भएको फिल्मले राम्रो कमाइ गरिरहेको छ। बेनिशाले पनि तारिफ बटुलिरहेकी छन्। पहिलो पटक आफू अभिनीत फिल्मले व्यावसायिक सफलता पाउँदा उनको खुसी र ऊर्जा दुवै बढेको छ।

‘एकदमै खुसी लागिरहेको छ। दर्शकहरूले धेरै म्यासेज पठाइरहनुभएको छ। पहिला पनि कामको तारिफ हुन्थ्यो तर यो फिल्मबाट मैले धेरै दर्शकको प्रतिक्रिया पाएँ। फिल्म हिट वा फ्लप हुने कलाकारको हातमा हुँदैन। तर यो फिल्म हिट भएपछि अझै राम्रो गर्नुपर्छ भन्ने ऊर्जा आएको छ,’ उनले भनिन्।

धेरै कमाइ गर्ने सिरिज फिल्म हो ‘छक्का पन्जा’। चौथो संस्करणले पनि राम्रो गर्ने बेनिशाको अनुमान थियो।

‘छक्का पन्जा एउटा ब्रान्ड नै भइसक्यो। त्यसैले लोभ चाहिँ थियो,’ उनले भनिन्।

बेनिशालाई फिल्ममा सफलताको स्वाद चाख्ने लोभ बालापनमा पनि थियो। चितवनको गीतानगरमा जन्मिएकी बेनिशा नाचगानमा रमाउँथिन्। नृत्य प्रतियोगिताहरूमा चिटिक्क भएर सहभागी हुँदा उनलाई लाग्थ्यो, ‘म हिरोइन बन्छु।’

पढाइमा पनि उनी मेहनती थिइन्। कक्षामा प्रायः प्रथम हुन्थिन्। त्यसैले पछिपछि उनको ध्यान र समय पढाइमै लाग्यो। यसबीच उनले आफ्नो सपना भुलिन्।

उनका बुवाआमा छोरी डाक्टर वा इञ्जिनियर बनोस् भन्ने चाहन्थे। एसएलसीमा गणित विषयमा कम नम्बर आएपछि बेनिशाले पत्रकारिता पढ्ने निधो गरिन्। उनलाई समाचार वाचन गर्ने पनि रहर थियो।

शान्ति एकेडेमीमा पत्रकारिता पढ्दै गर्दा उनले कालिका एफएममा काम गर्ने अवसर पाइन्। आरजे (रेडियो जक्की) नै बन्छु भनेर सोचेकी थिइनन्। साथीहरूको उक्साएपछि पुगेकी थिइन्।

कलेज पढ्दै पैसा कमाउने भएपछि उनी दंग परिन्। त्यहाँ एक वर्ष काम गरेपछि स्नातक पढ्न उनी काठमाडौं आइन्। काठमाडौं आएपछि च्यानल नेपालमा काम गरिन्। त्यहाँ फिल्म सम्बन्धी कार्यक्रम चलाउँथिन्।

फिल्मी कार्यक्रम चलाउँदै गर्दा उनलाई फिल्ममा खेल्ने प्रस्ताव आउन थाल्यो। प्रशन्न पौड्यालले उनलाई फिल्म ‘स्वर’ का लागि प्रस्ताव गरे। त्यति बेलासम्म हिरोइन बन्ने उनको रहर मरिसकेको थियो। फिल्ममा त काम नगर्ने भनेर अडानै लिएर बसेकी थिइन्।

स्वरमा भने आफूलाई सुहाउँदो भूमिका भएपछि उनलाई गरौं न त भन्ने लाग्यो।

‘त्यति बेला त नेपाली फिल्म पनि हेर्छन् र भन्ने थियो। त्यसैले नेपाली फिल्ममा काम गर्छु भन्दा साथीहरूले के भन्ने हुन् भनेर हिच्किचाइरहेकी थिएँ,’ उनले भनिन्, ‘फिल्मको स्क्रिप्ट पढेपछि रमाइलो लाग्यो। यही फिल्म मेरो पहिलो र अन्तिम हो भनेर गरेँ।’

फिल्ममा काम गर्न उनलाई घरबाट अनुमति भएन। निर्देशकले बेनिशाका बुवासँगै कुरा गरे। बुवाले पहिला पढाइ सकोस् अनि भन्ने जवाफ दिए। बेनिशाले पढाइमा कुनै असर नगर्ने बाचा गर्दै बुवालाई मनाइन्।

स्वर नै पहिलो र अन्तिम फिल्म भन्ने सोचेकी थिइन् उनले। तर फिल्म प्रदर्शन भएपछि उनलाई अझै काम गर्न पाए हुन्थ्यो भन्ने लाग्यो।

‘फिल्म एउटा लत नै रहेछ। रिलिजपछि जुन प्रतिक्रिया र पहिचान पाएँ, त्यसले थप काम गर्न मन लाग्यो। तर तीन-चार वटा फिल्म खेलिसक्दा पनि यही पेसा अपनाउँछु भन्ने चाहिँ थिएन,’ उनले भनिन्।

यही क्रममा उनी ‘कालो पोथी’ फिल्मको छायांकन गर्न मुगु पुगेकी थिइन्। त्यहाँ रातभर सुत्न सकिनन्।

अनि निर्देशक मिनबहादुर भामलाई गएर भनिन्- मलाई गाह्रो भइरहेको छ। म काम गर्न सक्दिनँ, काठमाडौं पठाइदिनू।

मिनबहादुरले उनलाई भनेछन्- तपाईंलाई केही भएको होइन। तपाईंले धेरै सोचेर एन्जाइटी (चिन्ता) भएको हो।

त्यति बेला उनले आफ्नो समस्याबारे थाहा पाइन्।

बेनिशा भन्छिन्, ‘मिनबहादुर भामको सहयोग र मुगुको वातावरणले मलाई एन्जाइटीबाट निस्किन सहयोग भयो।’

यसमा काम गरेपछि उनले कला क्षेत्रलाई नै पेसा बनाउने सोचिन्।

 

‘यो फिल्म छायांकन गर्न बाहिरबाट मान्छे आउनुभएको थियो। यो टिममा सबै अनुशासित भएर काम गरेको देखेँ। उहाँहरूको मेहनत देखेर मेरो गन्तव्य के हो भनेर सोच्न बाध्य भएँ। कला क्षेत्रमै लाग्ने हो भने मैले मेहनत गर्नुपर्छ भन्ने लाग्यो,’ उनले भनिन्।

मुगुबाट फर्किएपछि उनले सुनिल पोखरेलसँग तीन महिनाको रंगमञ्च कक्षा लिइन्। अभिनय सिकिन्। आफ्नो फिल्मी करिअरप्रति गम्भीर बन्दै गएकी बेनिशाले सोचेजस्तो फिल्म भने पाइरहेकी थिइनन्।

पछि निर्देशक सिमोश सुनुवारले एउटा फिल्मको कथा उनलाई सुनाए। तर बेनिशालाई अभिनेत्री लिने सोच सिमोशको थिएन। कथा सुनेपछि बेनिशा आफैंले काम मागिन्। आफ्नो जन्मदिन आउँदै गरेको भन्दै उनले उपहार स्वरूप फिल्ममा भूमिका मागिन्।

सिमोशले पनि ‘ल जन्मदिनको उपहार भयो!’ भन्दै उनलाई ‘झ्यानाकुटी’ मा भूमिका दिए।

झ्यानाकुटीमा बेनिशाले सानो बच्चाको आमाको भूमिका निर्वाह गर्नुपर्ने थियो। यसअघि उनी ‘ब्लाइन्ड रक्स’ मा सृष्टि केसी बनेकी थिइन्। पात्रमा भिज्न सृष्टिसँग लामो समय बिताएकी बेनिशाको बोली र हिँडाइमा सृष्टिकै झलक पाइन्थ्यो। झ्यानाकुटीको सेटमा पनि बेनिशामा सृष्टिकै भूमिका हावी भयो।

‘छायांकन गर्न हामी धम्पुस गएका थियौं। त्यहाँ एक जना महिलालाई देखेँ। उहाँको सानो छोरा थियो। उहाँलाई नियालेपछि फिल्ममा काम गर्न सजिलो भयो। यो फिल्म आफूलाई प्रमाणित गर्ने राम्रो अवसर थियो। त्यसैले आफ्नो तर्फबाट सक्दो मेहनत गर्न चाहन्थेँ,’ उनले भनिन्।

नभन्दै यो फिल्मबाट बेनिशाले चर्चा बटुलिन्। उनका संवादहरू सामाजिक सञ्जालमा भाइरल भए। ‘ब्लाइन्ड रक्स’ बाट राष्ट्रिय अवार्ड जितिन्। बक्स अफिसमा भने सोचे जस्तो कमाइ भएन।

यसपछि उनले हरर फिल्म ‘घर’ मा काम गरिन्। छायांकनमा जानुभन्दा केही समयअघि मात्र उनी यो फिल्ममा जोडिएकी थिइन्।

‘राम्रो टिम र फरक भूमिका पाए गर्छु भनेकी थिएँ। काम सुरू गरेपछि छोटो समयमै म कुनै पात्रमा भिज्न नसक्ने रहेछु भनेर बुझेँ। यो फिल्म हेर्दा अझै राम्रो काम गर्न सक्थेँ भन्ने लाग्छ,’ उनले भनिन्।

बेनिशाको अभिनय करिअर अघि बढिरहेको थियो। उनलाई फिल्म निर्देशनमा पनि रूचि भयो। फिल्म मेकिङ पढ्न भारतको मुम्बई पुगिन्। कोरोना महामारीका कारण पढाइ पूरा गर्न सकिनन्। उनले निर्देशक बन्ने सपना भने पूरा गरिन्, छोटो फिल्म ‘मिसिङ ब्राइड’ निर्देशन गरेर। उनले आफ्नै निर्माण कम्पनी ‘माउरी पिक्चर्स’ बाट फिल्म बनाएकी हुन्। यसलाई ‘सिनेमाघर’ एपबाट प्रदर्शन गर्ने तयारी छ।

‘यो फिल्म बनाउँदा कलेजमा पढेभन्दा धेरै सिक्ने अवसर पाएँ। आफैंले काम गर्दा कति मेहनत लाग्दो रहेछ थाहा पाएँ,’ उनले भनिन्।

‘मिसिङ ब्राइड’ साइकोलोजिकल थ्रिलर फिल्म हो। फिल्मको कथा उनले दुई वर्षदेखि आफ्नै दिमागमा बुनिरहेकी थिइन्। कागजमा भने उनले एक रातमै उतारेको उनी बताउँछिन्।

बेनिशा लकडाउनको समयमा नेपाल फर्किएकी थिइन्। त्यसैले उनी नेपाल आएको धेरैलाई थाहा थिएन।

‘कलाकार जति क्रियाशील भयो, त्यति कामको प्रस्ताव आउँछ। म मुम्बई गएको सबैलाई थाहा भयो तर  लकडाउन भएकाले नेपाल आएको थाहा भएन। तैपनि म डान्स, भ्वाइस मोडुलेसन र वर्कआउट गरिरहन्थेँ,’ उनले भनिन्।

यही सिलसिलामा एउटा फिल्मको प्रिमियरमा बेनिशाको भेट दीपकराज गिरीसँग भयो। उक्त भेटमा दीपकले बेनिशालाई सोधे, ‘तिमी असारमा खाली छौ?’

उनले खुशी हुँदै छु भनिन्।

‘हामी सँगै काम गर्छौं है,’ दीपकले भने।

दीपकको प्रस्ताव सुनेर बेनिशा उत्साहित भइन्। तर एक महिनासम्म फिल्मको कुरै अगाडि बढेन। उनलाई कहिलेदेखि छायांकनमा जाला भन्ने खुल्दुली लाग्न थाल्यो। सोध्ने हिम्मत भने गरिनन्।

‘उहाँहरूको टिमसँग जोडिनु भनेको व्यावसायिक रूपमा सफलता पाउनु हो। कलाकारको हिसाबले धेरै दर्शकले आफ्नो फिल्म हेरिदिऊन् भन्ने नै हुन्छ,’ उनले भनिन्।

एक दिन उनलाई दीपाश्री निरौलाको फोन आयो। एक चरणमा कुरा भइसक्यो होला भन्दै उनले छिट्टै भेट्ने कुरा गरिन्। केही समयपछि छक्का पन्जा टिमसँग उनको भेट भयो।

उनीहरूले कथा सुनाए।

‘मलाई पहिला फिल्म व्यावसायिक रूपमा हिट हुनुपर्छ भन्ने लाग्दैन थियो। पहिला काम राम्रो हुनुपर्छ भन्ने लाग्थ्यो। अहिले फिल्ममा कसैको लगानी हुन्छ। त्यसैले व्यावसायिक रूपमा पनि राम्रो गरियोस् भन्ने लाग्छ,’ उनले भनिन्।

छक्का पन्जा ४ ले बेनिशाको फिल्म हिट हुँदैन भन्ने धारणा तोडिदिएको छ।

‘सफलता भनेको सन्तुष्टि हो। मान्छे जुन उचाइमा पुगे पनि खुसी छैन भने त्यसको कुनै अर्थ हुँदैन,’ उनले भनिन्।

  • साझा परिवेश
  • शुक्रबार, चैत्र ३, २०७९ ११:१९

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।