October 12, 2024 | शनिबार, अशोज २६, २०८१
सुचनाहरु
अदालतको आदेशलाई महानगरको निर्णय भनि जनता माझ भ्रम नछर्नु- बालेन सरकारले संविधान दिवशको अवसरमा नेसनल डे कन्सर्ट गर्ने प्रधानमन्त्रीलाई एमाले काठमाडौँद्वारा ध्यानाकर्षण माओवादी केन्द्र भद्रपुरमा हंशधर राजवंशीको नेतृत्वमा नयाँ कार्य समिति चयन सुनको मुल्य घट्यो , कतिमा हुदैछ कारोवार ? साफ यु–२०: भुटानलाई हराउँदै नेपाल फाइनलमा चरित्रहत्या गरेको भन्दै दुर्गा प्रसाईंविरुद्ध ज्वाला संग्रौलाले दिइन् साइबर व्युरोमा उजुरी आज श्रीकृष्ण जन्माष्टमी गुन्यु चोली जोगाउन थालिएको मेची–काली यात्रा समापन आजको मौसम : कोशीमा भारी वर्षाको सम्भावना विमानस्थलबाट इन्धन डिपो हटाउन सरकारी निकायबीच मिलेन तालमेल सुनकोसीमा खसेको गाडी निकालियो, अझै तीनजना नदीमै बेपत्ता भत्ता लिन राष्ट्रिय परिचय पत्र नचाहिने सर्वोच्च अदालतको आदेश कोरियामा मृत्यु भएकी इलामकी सोनुको शव नेपाल ल्याइयो नेपाली तीर्थयात्री बोकेको बस बिहारमा दुर्घटना सुनको मूल्य तोलामा १ हजार रुपैयाँ बढ्यो महोत्तरीको बर्दिवास र औरही सिमाना नजिक वडा अध्यक्ष मृत फेला देउवा निवास अगाडि फेला परेको शङ्कास्पद वस्तुभित्र माटो भेटियो झापाको गौरीगञ्जमा आगलागी, दुईवटा घर जलेर नष्ट त्रिशूली नदीमा खस्नबाट जोगियो बस, घाइते १५ जनामध्ये दुईको अवस्था गम्भीर

धोकेबाज हुँ म!

  • साझा परिवेश
  • शुक्रबार, चैत्र २४, २०७९ १२:४५
धोकेबाज हुँ म!

केशवराज शर्मा

म सानैदेखि लजालु स्वभावको थिएँ। मलाई केटीहरूसँग बोल्न अझै पनि लाज लाग्छ। मेरा साथीहरू जस्तै केटीहरूसँग म झट्टै खुलेर बोल्न सक्दिनँ।

गाउँमा जन्मिएको म त्यहीँको सरकारी स्कुलमा भर्ना भएको थिएँ। गुल्मीतिर कक्षा दुई\तीनदेखि नै केटाकेटीहरू बीचमा शिक्षकले नै जोडी बनाइदिने चलन थियो। मलाई  २ देखि ५ कक्षासम्म पढ्ने बेलामा दुई जना केटीसँग जोडी बनाइदिनु भएको थियो।

आजभन्दा १५/१६ वर्षअगाडि बच्चा उमेरमा त्यसरी जोडी बनाउँदा कसलाई पो लाज लाग्दैनथ्यो होला र?  त्यसमाथि म झनै लजालु स्वभावको मान्छे। त्यसरी जोडी बनाइएकाहरू भने एकआपसमा वर्षौंसम्म लाजले नबोल्ने चलन थियो।

होमवर्क  नगरी आउँदा होस् या केही कुरा नजान्दा, सरले तिनै जोडीहरूलाई बेन्चमा बसाल्दिने चलन थियो। त्यतिबेला डर वा लाजले सबैको अनुहार रातोपिरो बनाउँदै दिनभर क्लासमा केटाकेटी सँगै बस्नुपर्ने बाध्यता  थियो।

यो चलन हाम्रोतिर अझै छ जस्तो लाग्छ।  मेरा ती सानो उमेरका जोडीहरू भने अहिले कता-कता होलान् कुन्नी? अहिले चाहिँ सम्झेर रमाइलो लाग्छ।

कक्षा ५ सकिसकेपछि करिब एक घण्टा हिँडेर अर्को स्कुल जानुपर्ने  बाध्यता थियो। त्यतिबेला म एकदमै सानो थिएँ। दाइले त्यति टाढाको स्कुलमा हिँडेर आउन/जान सक्दैनस् भनेर मलाई कक्षा ५ मा रोक्ने प्रयास भयो तर म स्कुल प्रथम भएकाले कक्षा चढ्न नपाउँदा फेल भएको महसुस गर्दै जसरी भए पनि कक्षा ६ मा पढ्न जान पाउनुपर्ने जिद्दीले कक्षन ६ मा भर्ना पाएँ।

त्यहाँ पनि कक्षामा जोडी बनाइदिने कार्य हुँदो रहेछ। कक्षा ७ मा पढ्दा एउटीसँग मेरो जोडी बनाइयो तर म त्यो बच्चालाई माया पिरती भन्ने केही थाहै थिएन। हामीहरू कक्षामा सँगै पढथ्यौँ, साथीहरू खुब जिस्काउँथे। त्यसपछि हामी लाजले बोल्नै छोड्यौं।

यसैगरी हामीहरू एसएलसी पास गरेर कलेज पढ्ने भयौँ। अब भने मलाई किशोरावस्थाले छोएर होला लजालु स्वाभाव भने केही घटेको थियो। कलेजमा साथीहरूको लभ परेको देख्दा मलाई पनि लभ गरौँ-गरौँ लाग्न थाल्यो। लभ गरौँ लाग्दैमा लभ त नपर्ने पो रैछ!

लभ गर्न मुख्य शूत्र केटीहरूसँग नजिकिनु, नलजाई बोल्नु र उनीहरूको तारिफ पनि गर्नुपर्ने रहेछ। म भने एक त केटीहरूसँग कम बोल्ने,  त्यसरी फुर्काउन सक्ने कला खासै नभएको र शारीरिक बनावट खासै खाइलाग्दो नभएकोले पनि केटीहरू त्यति सजिलै आकर्षित नहुने लाग्थ्यो। तर मलाई एउटी प्रेमिका जसरी नि बनाउन रहर पलाएको थियो।

समय दसैँको थियो, हामीहरू मेला हेर्न सिस्नेचौर भन्ने ठाउँमा गएका थियौँ। जहाँ सँगै कलेज पढ्ने केटी साथीहरू, ७ कक्षादेखि जिस्काउने मेरो जोडी उही केटी पनि सँगै थिए। दिनभर मेला हेर्यौं, फर्किने बेला बाल्यकालको मेरो जोडीसँग हाम्रो जोडी मिल्ने र अब साँच्चिकैको जोडी बनाउनु पर्छ है भन्दै जिस्काउन थाले।

उसको त्यो स्लिम ज्यान, हिस्स परेको अनुहार मलाई मन चाहिँ पर्थ्यो। ऊसँग म त्यति बेलादेखि नै लाजले बोल्ने थिइनँ तर अब भने मनमा भित्रभित्रै उसैसँग लभ पार्नुपर्छ क्या हो भन्ने कुरा खेल्न थाल्यो। साथीहरूले जिस्काउँदा हामी भने लाजले  भुतुक्कै भएका थियौँ।

जिस्कँदै फर्कने क्रममा हामीहरूको घर छुट्टाछुट्टै ठाउँमा भएकोले भेडिटार भन्ने ठाउँबाट छुट्टियौँ। घर पुगेपछि भने कता-कता उसैसँग माया बसेको आभास हुनथाल्यो। उसलाई घर पुग्यौँ भन्ने बाहनामा फोन गरेँ।

‘घर पुग्यौ?’ (त्यो मेरो पहिलो फोन कल थियो।)

उसले बोलीबाटै चिनिछ क्यार, भर्खर आएको भनी। मेला कस्तो लाग्यो भन्ने कुरापछि फोन राखेँ। फोन राखेपछि भने उसलाई नै सम्झिँदै निदाउन पुगेछु।

त्यसपछि दिनदिनै उसलाई फोन गर्न लागेँ। उसले पनि फोन गर्दै गई। माया बढ्दै गयो। उसलाई प्रेम प्रस्ताव राख्न खोजेँ तर मभित्र आत्मविश्वास भने पटक्कै आएन।

त्यत्तिकैमा हाम्रो दसैँ बिदा सक्कियो। बिदा सक्केको दोस्रो दिनबाट हामी कलेज जान थाल्यौँ। हाम्रो सेक्सन फरक भएकोले हाफ टाइममा मात्र देखभेट हुन्थ्यो तर फोनमा बोल्ने म प्रत्यक्ष रुपमा ऊसँग बोल्न सक्ने हिम्मत भने अझै आएन।

त्यो दिन हाम्रो केही कुरा भएन केवल देखादेख मात्र भयो। घरमा फर्केर उसलाई कल गरेँ। सामान्य कुराहरू नै भयो। हाम्रो कुरा हुन थालेको नि महिना बित्न लाग्यो। कलेजमा पनि अलिअलि बोल्दै जान थालेका थियौँ। अब पनि आत्मविश्वास बढाएर प्रेम प्रस्ताव राखिनँ भने त अर्कै साथीले लभ पारिसक्छ भन्ने आभास हुनथाल्यो।

जब उसलाई प्रेम प्रस्ताव राख्न आँट गर्थें त्यतिबेला उसले इन्कार गर्छे कि भन्ने डरले कति पटक त्यो आँटलाई ब्रेक लाउनु परेको थियो। जेसुकै होस् भनेर एक रात आत्मविश्वास बढाएर उसलाई मेसेन्जरमा प्रेम प्रस्ताव राखेँ।

उसले त्यो मेसेज हेरी तर कुनै रिप्लाई दिइन। अब मलाई भोलि कलेजमा कसरी मुख देखाउने भन्ने भयो। मेरो बिल्ला पो गर्छे कि भन्ने डरले सतायो। फेरि ‘सरी है, मन दुखाएको भए’ भन्ने मेसेज गरेँ। उसले कुनै रिप्लाई दिइन।

रातको १२ बज्न लाग्यो, ऊ अनलाइन छे तर मेरो मेसेज रिप्लाई नगरेपछि कल गरेर मेसेज रिप्लाई गर्न भनेँ। उसले सोचेर  पछि रिप्लाई गर्छु भनी।

अर्को दिन बिहान उठ्दा प्रेम प्रस्ताव एसेप्ट भएको रहेछ। खुसीले गद्गद् भएँ। त्यसपछि हामीहरू कलेजमा बोल्ने,  खाजा सँगै खान जाने, कलेज जाँदा/फर्किँदा आधा बाटोसम्म सँगै हुन थाल्यौँ। उसको र मेरो माया झन्-झन् गाढा हुँदै गयो।

प्रेम सम्बन्धका कारण पढाइमा भने कुनै असर पर्न दिएको थिइनँ। म पढाइमा राम्रै ध्यान लगाउँथेँ। फोनमा बोल्ने, झगडा गर्ने अनि हप्ता-दिनसम्म नबोल्नेजस्ता कृयाहरू भने चलिरहन्थे। यत्तिकैमा हाम्रो कलेजको अन्तिम नतिजा आयो।

उसले नेपाली विषय र मैले कमर्स विषय लिएर पढेको थिएँ। त्यही कलेजमा बिबिएस पढाइ नहुने हुँदा म अर्को कलेज भर्ना हुनुपर्ने भयो। बिएड चाहिँ त्यही कलेजमा हुँदा ऊ त्यहीँ पढ्ने भई। यसरी हाम्रो एउटै कलेज पढ्ने अवसरबाट हामी बन्चित हुनुपर्ने भयो।

उसले त्यही कलेजमा बिएड प्रथम वर्षमा भर्ना गरी भने म बिबिएस पढ्न काठमाडौं पसेँ।

जब म काठमाडौं गएँ तब दिनहुँ ऊसँगै बिताएका पलहरू आँखामा झलझली आउनथाल्यो। अब हाम्रो भेट भने नि,  कुराकानी भने नि फोनमा मात्र सीमित भयो। तर माया भने बढ्दै गएको थियो।  सुनेको थिएँ जति टाढा उति माया गाढा, आज आफैले भोगेर थाहा भयो जस्तो लाग्यो।

अब हाम्रो भेट कि म घर जाँदा या ऊ काठमाडौं आउँदा हुन्थ्यो अर्थात् वर्षमा १/२ पटक मात्र हुन थाल्यो। हामी फोनमा धेरै कुरा गर्नुपर्ने भएकाले मसँग रिचार्ज किन्ने पैसा नहुँदा पनि कयौँ पटक उसैले रिचार्ज गर्दिने गर्थी।

दिनहरू बित्दै गए, हाम्रो कुरा हुँदै गयो। अब ऊ बिएड दोस्रो वर्षमा पढ्ने भई। अब उसलाई परिवार समाजले ठूली देख्नथालेछ अर्थात् अब उसको बिहे गर्दिनुपर्ने देख्न थालेछन्। यता म भने आफूले आफूलाई बच्चैजस्तो लाग्दथ्यो। काठमाडौंमा बस्ने-पढ्ने खर्च घरबाट पठाइदिनु हुथ्यो। त्यसैले पनि होला म कुनै जागिर नगरी कलेज पढिरहेको थिएँ।

उता गाउँमा हुर्किएकी छोरीलाई बिहे गर्दिहाल्नु पर्ने कुरा चोक, चौतारोहरूमा सुनिन थालेको कुरा उसले फोनमा दिनहुँ मलाई सुनाउँदै रुन्थी। उसको दिदीले उसको बिहे गर्दिन केटाको कुरा घरमा पठाउन थालिछन्। ऊ भने मेरो प्रेममा परिसकेकी थिई।

उसले घरमा माग्न आएको र जसरी भए नि बिहे गर्दिने कुरा सुनाउन थाली। म भने उसको बिहे रोक्ने कुनै उपाय नदिई उसलाई राम्रो केटा आए बिहे गर भनेर मुटुमाथि ढुङ्गा राखेर भन्न थालेँ। कारण म आफू बिना जागिरे केटो उसलाई माग्न घरमा जाँदा घरपरिवारले बिहे नगर्दिने र मभित्र उसलाई माया गर्ने बाहेक बिहे गर्छु तत्काल भन्न सक्ने कुनै आत्मविश्वास नै आएन।

न मसँग जागिर छ, न उमेर भएको छ। केही नभएको म उसलाई बिहे गरेर के खान दिने? घरबाट मागेको पैसाले कति दिन चल्छ र? जस्ता प्रश्नले उसलाई भगाउनबाट पछि हटेँ।

ऊ भने दिनरात ‘म अरुसँग बिहे गर्दिनँ, मलाई भगाएर लैजाऊ अरु केही चाहिँदैन, माया भए पुग्छ’ भन्दै रुँदै बिलौना गर्थी। म भने लाचार बनेर सुनिरहेँ। उल्टै उसलाई ‘सरकारी जागिरे छ केटा, उसैसँग बिहे गरेमा सुख पाउछौ’ भन्दै बिहे गर्ने सुझाव दिइरहेँ।

उसले भने ‘मलाई सुख हैन, खुसी चाहिएको हो’ भन्दै रुने गर्थी।

उसले मलाई कुनै हालतमा बिहे गर्दैन भन्ने बुझ्न थाली। ऊ रोई-कराई। म भने उसलाई ‘राम्रो केटो भएकोले बिहे गर, मैले बिहे गरेर तिमी दुःख पाउछौ। म न जागिर गर्छु, अहिले बिहे गरेर के गर्ने हामी दुवैको भविष्य अन्धकार हुन्छ सानु’ भन्दै उसलाई अरूसँगै बिहे गर्न अनुरोध गरिरहेँ।

अब उसले मलाई धोकेबाज, प्ले-ब्वाइ जस्ता उपनाम दिँदै मसँग सम्पर्क नगर्ने र अरु केटासँग बिहे गर्ने भनेर रिसाउँदै फोन काटी। त्यसपछि मैले धेरै पटक फोन गरेँ, लागेन। मेसेज गरेँ, कुनै रिप्लाई  आएन। उसले त त्यो नम्बरको सिम फालेर अर्को नम्बर प्रयोग गर्न थालिछ।

उसको नयाँ फोन नम्बर पाउन पनि सकिनँ।  फेसबुकमा पनि ब्लक गरिसकेकी थिई। हाम्रो सम्पर्क हुन छोड्यो। अब मलाई छटपटी हुनथाल्यो। एक मनले घरै गएर भगाइ ल्याउँ कि सोचेँ। अर्को मनले तँसँग अहिले के छ र उसलाई बिहे गर्न भन्दै रोक्यो।

सम्पर्क हुन छोडेको दुई हप्तामै उसले बिहे गरिछ। त्यो कुरा उसका साथीहरूबाट थाहा पाएँ। मलाई भने उसलाई गुमाउनुमा ठूलो पीडा भयो। दिनमा भोक, रातमा निद्रा हराउन थाल्यो। उसलाई हृदयदेखि नै माया गर्थें तर मेरो आत्मविश्वासको कमिले उसलाई आफ्नो बनाउने हिम्मत आएन।

मायाले मात्र संसार चल्दैन, के प्रेमिकाजस्तै बिहेपछि श्रीमती पनि माया मात्र भएर कहाँ खुसी हुन्छन् होला र? मैले उसलाई प्रयोग गर्नको लागि मात्र माया गरेको पटक्कै थिइनँ, यो कुरा सिर्फ मेरो अन्तरआत्मालाई मात्र थाहा छ।

तर सत्य यही हो कि म अन्जानमा साथीको देखेर प्रेममा लागेको चाहिँ पक्कै हो। जब म उसलाई प्रेम प्रस्ताव राखेको थिएँ त्यो बेला म बिहे गर्नैपर्छ भन्ने केही योजनामै थिइनँ। सायद अपरिपक्व उमेरको परिणाम हुनुपर्छ।

उसलाई माया गर्न जाने तर बिहे गर्न जानिनँ। अपरिपक्व उमेरमा प्रेम गरेर आज उसलाई धोका दिएँ। हो, म धोकेबाज हो तर उसलाई पराईको हुन दिने मेरो मनको चाहना भने पटक्कै हुँदै होइन।

आज ऊ पराईकी भएकी छे। कहाँ छे? के गर्दैछे? सायद मलाई अझै धोकेबाज नै भनेर सोच्छे होला तर मेरो नजानिँदो काँचो प्रेम उसलाई के थाहा!

म उसलाई काँचो प्रेम गरेकोमा सधैँ पछुताउने छु। हामी एक हुन नसक्नुमा कमजोरी मेरै हो। कतिपयले बिना जागिर  भागेर पनि त बिहे गरेका छन्, मैले किन आँट गर्न सकिनँ भन्दै पछुतो नलागेको पनि पक्कै होइन।

  • साझा परिवेश
  • शुक्रबार, चैत्र २४, २०७९ १२:४५

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्