काठमाडौँ । उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठ र नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवबीच आज गृह मन्त्रालयमा शिष्टाचार भेटवार्ता भएको छ।
भेटवार्तामा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको आसन्न भारत भ्रमण, नेपाल-भारत ऐतिहासिक सम्बन्ध, निरन्तरको सहकार्य र सीमा सुरक्षा लगायतका विषयमा छलफल भएको छ।
त्यसक्रममा उपप्रधानमन्त्री श्रेष्ठले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को भारत भ्रमणको कार्यक्रम छिटै तय हुने र आफ्नो तथा वर्तमान सरकारको कार्यकालमा दुई देशबीचको
सम्बन्ध थप घनिष्ठ हुने विश्वास व्यक्त गरे। साथै सीमा व्यवस्थापन र सीमापार अपराध नियन्त्रण जस्ता संवेदनशील विषयमा समेत खुला छलफल हुनुपर्ने धारणा उपप्रधानमन्त्री श्रेष्ठले राखे ।
भर्खरै रुपन्देही भ्रमण गर्दा एउटा ‘बोर्डर आउटपोस्ट’ निरीक्षण गरेको र सो क्रममा आफूले दुई देशका सुरक्षा निकायबीच राम्रो समन्वय र सहकार्य रहेको देखेको उनले बताए।
भेटवार्तामा राजदूत श्रीवास्तवले सीमामा नियमित वारपार गर्ने नागरिकले अपराधी जस्तै व्यवहारको सामना गर्नु नपरोस् भनेर दुवै पक्ष संवेदनशील हुनुपर्ने बताएका थिए।
त्यसक्रममा नेपालगन्ज- रुपेडिया, भैरहवा-सुनौली तथा दोधारा-चाँदनीमा ‘इन्टेग्रेटेड चेकपोस्ट’ बनाउने विषयमा समेत छलफल भएको थियो।
गत वर्ष भारतको नयाँ दिल्लीमा सम्पन्न ‘ज्वाइन्ट वर्किङ ग्रुप अन बोर्डर म्यानेजमेन्ट’को बैठकमा कतिपय सीमा नजिकका स्थानमा विकास निर्माणका
सम्बन्धमा रहेको विवादलाई थप छलफल गरेर टुङ्ग्याउने सहमति भएको र त्यसका लागि भारतीय पक्ष तयार रहेको समेत राजदूत श्रीवास्तवले बताए।
भारतीय सहयोगमा बन्ने नयाँ पुलिस एकेडेमी उच्च गुणस्तरको हुने र निर्धारित समयमै सम्पन्न हुने बताउँदै राजदूत श्रीवास्तवले नेपाल प्रहरी, सशस्त्र प्रहरी जस्ता नेपाली सुरक्षाकर्मीको
तालिम तथा क्षमता विकासको कार्यक्रमलाई भारतले सधैँ प्राथमिकता दिएको जानकारी दिएका थिए ।