April 29, 2024 | सोमवार, बैशाख १७, २०८१
सुचनाहरु
अञ्जान शाक्यले लिइन अराष्ट्रिय सभा सदस्यको शपथ बझाङमा एमालेका भण्डारी अगाडि मैत्रीपूर्ण टी–२० शृङ्खला : दोस्रो खेलमा वेस्ट इन्डिज ‘ए’ सग नेपाल पराजित नेपाली ओपनर लोकेश बम घाइते ; स्ट्रेचरमा राखेर बाहिर ल्याइयो नेपाललाई वेष्ट इन्डिजले दियो १६१ रनको लक्ष्य वेस्टइन्डिज ‘ए’ विरुद्ध नेपालले पहिला बलिङ गर्ने, टिममा ५ परिवर्तन राष्ट्रपतिबाट लगानी सहजीकरणसम्बन्धी अध्यादेश जारी सुनको मूल्य बढ्यो , कति पुग्यो त तोलाको ? आईपीएल क्रिकेटमा आज गुजरात र बैंगलुरु तथा चेन्नई र हैदराबाद खेल्दै तेस्रो अन्तर्राष्ट्रिय लगानी सम्मेलन शुरु तराईमा अत्यधिक गर्मी, वैशाख २० सम्मै तातो हावा चल्ने युट्युब हेरेर बनाएको पेस्तोल बोक्दा पड्किएर एक जना घाइते झापाको बाह्रदशीमा ब्राउन सुगरसहित एक जना पक्राउ सेक्युरिटी प्रिन्टिङ प्रेस बन्द गराएर बाहिरबाट पासपोर्ट छपाइ चिया गुणस्तर परीक्षण गर्न सरकारसँग छैन आफ्नै ल्याब, भारतको भरमा निकासी बझाङमा हेलिकप्टरबाट मतपेटिका ल्याइँदै, दिउँसोबाट मतगणना आजदेखि लगानी सम्मेलन सुरू इलाम–२ को मतगणना ११ बजेबाट जापानी विदेशमन्त्री योको नेपाल आउँदै जुनसुकै पालिकाका विपन्नको उपचार काठमाडौँ महानगरले गर्ने बालेनको घोषणा

दशौँपटक विस्तार हुँदा पनि सरकारले पाएन पूर्णता : अब रास्वपाको बाटो छेकिएको हो ?

  • साझा परिवेश
  • बुधबार, बैशाख २०, २०८० २१:२९
दशौँपटक विस्तार हुँदा पनि सरकारले पाएन पूर्णता : अब रास्वपाको बाटो छेकिएको हो ?

काठमाडौं । ०७९ पुस १० गते प्रधानमन्त्री बनेका पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दशौँपटक सरकार विस्तार गरेका छन् । मन्त्रिपरिषद्मा बुधबार नेपाली कांग्रेसबाट तीन मन्त्री थपिएका छन् ।

जसअनुसार कानुन, न्याय तथा संसदीय मामिलामन्त्रीमा धनराज गुरुङ, स्वास्थ्य तथा जनसंख्या मन्त्रीमा मोहनबहादुर बस्नेत र युवा तथा खेलकुद मन्त्रीमा डिगबहादुर लिम्बु नियुक्त भएका छन् ।

किस्ताकिस्तामा मन्त्री नियुक्त गर्दा पनि सरकारले पूर्णता पाउन सकेको छैन । अझै खानेपानी मन्त्रालय र वन तथा वातावरण मन्त्रालय नेतृत्वविहीन छन् ।

गएको चैत १७ गते सातौँपटक सरकार विस्तार हुँदा मन्त्रालयमा असन्तुष्टि जनाउँदै जनमत पार्टीका अब्दुल खानले खानेपानी मन्त्रीबाट राजीनामा दिएका थिए । त्यसयता त्यो मन्त्रालय रिक्त छ ।

खानेपानी मन्त्रालय पनि कांग्रेसले पाएको चर्चा थियो । तर, खानेपानी मन्त्रालय प्रधानमन्त्री आफैँले राखेका छन् ।

कांग्रेसकातर्फबाट सरकारमा आठ मन्त्री सामेल भएका छन् ।

त्यस्तै, जनता समाजवादी पार्टी (जसपा)ले दुई मन्त्रालयले पाएको थियो । उसले शिक्षामन्त्रीमा नेता अशोक राईलाई पठाएको थियो । वन तथा वातावरण मन्त्रालय उसकै लागि छुट्याइएको बताइन्छ ।

आजको गठबन्धन बैठकपछि कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले मन्त्रिपरिषद्लाई छिट्टै पूर्णता दिनेबारे छलफल भएको बताए । जसपाका अध्यक्ष उपेन्द्र यादवले पार्टीकोतर्फबाट पठाउने मन्त्रीका विषयमा तयारी भइरहेको बताए ।

“कांग्रेसले आज मन्त्री पठायो । हाम्रो तयारी हुँदै छ । अर्को दिन मन्त्री पठाउँछौँ,” उनले बाह्रखरीसँग भने ।

‘आफैँ मन्त्री बन्ने हो ?’ भन्ने प्रश्नमा उनले पार्टीमा कुनै छलफल नभएको बताए । “पार्टीमा कुनै सल्लाह भएको छैन । यसमा कुनै निर्णय भएको छैन,” उनले भने ।

रास्वपालाई बाटो राखिएको कि छेकिएको ? 
सरकारलाई समर्थन गरिरहेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले समर्थन फिर्ता लिने वा सरकारमा जाने निर्णय गरिसकेको छैन । उसले निर्णय गर्न शुक्रबारसम्मको भाका राखेको छ । उसलाई सरकारमा आउन प्रधानमन्त्री प्रचण्डले सार्वजनिक रूपमा नै आह्वान गरिसकेका छन् ।

आजको गठबन्धनको बैठकपछि कांग्रेसका प्रमुख सचेतक लेखकले रास्वपाको माग प्रधानमन्त्रीले नै सम्बोधन गर्नुपर्ने बताए ।

“प्रधानमन्त्रीजीले कुराकानी गरिरहनुभएको छ । त्यो कुरामा उहाँले सम्बोधन गर्नुहोला,” लेखकले भने ।

रास्वपासँग छलफल भइरहेका बेला सरकार विस्तार भएपछि उसलाई सरकारमा आउन बाटो राखिएको कि छेकिएको भन्ने प्रश्न उठेको छ । रास्वपा सरकारमा आए गठबन्धन दलको भागबन्डा मिलाउनुपर्ने हुन्छ । तर, अहिलेको समीकरण हेर्दा खाली रहेको मन्त्रालयमा एक मन्त्रालय जसपाले पाए एक मन्त्रालय मात्र बाँकी रहन्छ ।

हाल सरकारमा कांग्रेसका आठ, नेकपा (माओवादी केन्द्र)बाट उपप्रधानसहित चार मन्त्री र एक राज्यमन्त्री छन् । नेकपा (एकीकृत समाजवादी)बाट दुई मन्त्री र एक राज्यमन्त्री छन् ।  त्यस्तै, दुई मन्त्रालय पाएको जसपाबाट एक मन्त्री, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) बाट एक, नागरिक उन्मुक्तिबाट एक, नेपाल समाजवादी पार्टी (नेसपा) बाट एक मन्त्री सामेल छन् ।

रास्वपाका एक पदाधिकारीले सरकार विस्तारबारे आफूहरूलाई कुनै जानकारी नभएको बताए ।

“हामीसँग सल्लाह गरेर मन्त्रिपरिषद् विस्तार भएको भन्ने मैले बुझेको छैन । सभापतिले त्यस विषयमा हामी निकटहरूसँग भन्नुभएको छैन,” ती नेताले भने, “सरकारलाई पूर्णता दिन प्रधानमन्त्री लागेकै देखिन्छ । हामी शुक्रबार छलफल त गर्दैछौँ । मिश्रित प्रतिक्रिया छ । अहिले नै हाम्रो लागि राखिएको हो कि छेकिएको हो भनेर प्रतिक्रिया दिन हतार होला ।”

जसपाका अध्यक्ष यादवले भने आजको बैठकमा रास्वपालाई सरकारमा ल्याउने विषयमा छलफल नभएको दाबी गरे ।

“रास्वपालाई सरकारमा ल्याउने विषयमा छलफल भएको छैन,” उनले भने, “आजको बैठकमा कुरा भएन ।”

कहिले कहिले विस्तार ? 
मंसिरमा निर्वाचन सम्पन्न भएसँगै प्रधानमन्त्रीमा प्रचण्ड पुस १० मा नियुक्त भएका हुन् । उनले पहिलोपटक पुस ११ गते मन्त्रिपरिषद् विस्तार गरेका थिए । एमालेसहित सातदलीय गठबन्धनबाट पहिलोपटक तीन उपप्रधानसहित ६ मन्त्रीले शपथ लिएका थिए ।

प्रधानमन्त्री प्रचण्डले दोस्रोपटक माघ ३ गते मन्त्रिपरिषद् विस्तार गरे ।

माघ १४ गते नागरिकताको विषयले तत्कालीन गृहमन्त्री रवि लामिछानेले राजीनामा दिएपछि खाली रहेको गृह मन्त्रालयको जिम्मवारी प्रधानमन्त्री आफैँले सम्हालेका थिए ।

चौथौपटक माघ २३ गते मन्त्रिपरिषद् फेरबदल भएको थियो । राष्ट्रिय स्वतन्त्र पार्टीले सरकार छाडेपछि तीन मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री आफैँले लिएका थिए ।

फागुन १४ गते राप्रपाले सरकार छाडेपछि पाँचौँपटक मन्त्रिपरिषद्मा फेरबदल आयो । राप्रपाले छाडेका तीन मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री आफैँले लिएका थिए । छैँटौपटक फागुन १६ गते एमालेले सरकार छाडेपछि थप आठ मन्त्रालयको जिम्मेवारी पनि प्रधानमन्त्री प्रचण्डको काँधमा आएको थियो ।

राष्ट्रपति निर्वाचनले पुस १० मा बनेको गठबन्धन भत्किएपछि कांग्रेससहितको लोकतान्त्रिक–वाम गठबन्धन बनाउँदै प्रचण्डले आफ्नो सरकालाई अघि बढाए । उनले सातौँपटक चैत १७ गते कांग्रेसका चार, एकीकृत समाजवादीका दुई र लोसपका एक, नागरिक उन्मुक्तिका एक तथा आफ्नै पार्टी माओवादीबाट समेत मन्त्री थप्दै मन्त्रिपरिषद् विस्तार गरेका थिए ।

प्रधानमन्त्रीले आठौँपटक वैशाख ३ गते मन्त्रिपरिषद् विस्तार गरे । कांग्रेस सांसद एनपी साउदलाई उनले परराष्ट्र मन्त्री नियुक्त गरेका थिए । एकीकृत समाजवादीबाट नन्दा चपाईलाई भौतिक राज्यमन्त्री बनाएका थिए ।

वैशाख ५ गते उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्कालाई कानुनमन्त्रीको जिम्वेवारी दिँदा ९औँ पटक मन्त्रिपरिषद् फेरबदल भएको थियो ।

बुधबार कांग्रेसको कोटामा तीन सांसदले विभागीय मन्त्रीको जिम्मेवारी लिएपछि १०औँ पटक मन्त्रिपरिषद् विस्तार भएको छ ।

श्राेत: बाह्रखरी अनलाइन

  • साझा परिवेश
  • बुधबार, बैशाख २०, २०८० २१:२९

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।