July 18, 2024 | बिहिबार, साउन ३, २०८१
सुचनाहरु
गायक यशकुमारको हिरो सार्वजनिक ; दिपेन्द्र ,रोजेन र गरिमाको अभिनय मन्त्रीपरिषद बैठक बस्दै देशको अवस्था राम्रो र प्रशंसा गर्न लायक छैन : प्रधानमन्त्री ओली ‘आइसिसी डिजिटल फ्यान इन्गेजमेन्ट अवार्ड’ नेपालले पाएकोमा प्रधानमन्त्रीद्वारा बधाई ज्ञापन १५ गतेसम्म प्रतिनिधिसभाका ६ वटा बैठक सञ्चालन गर्ने निर्णय प्रधानमन्त्री ओलीले आइतबार विश्वासको मत लिने डेंगुको आशङ्का लागेमा निःशुल्क ‘हटलाइन टेलिफोन ११८०’ मा फोन गर्न काठमाडौँ महानगरको आग्रह चीनको डिपार्टमेन्टल स्टोरमा आगलागी, १६ जनाको मृत्यु एक वर्षमा रोजगारीका लागि सात लाखभन्दा बढी नेपाली बिदेश उडे एक वर्षमा २०१ भ्रष्टाचारका मुद्दा दर्ता, ५२४ कर्मचारी तानिए सुनचाँदीको मूल्य घट्यो सिमलताल दुर्घटना: १९ शव फेला, १४ जनाको सनाखत ५१ दिनमा सकियो ‘छक्कापञ्जा ५’ को छायाङ्कन ग्रीनवूड मार्सेलीमा अनुबन्ध प्रधानमन्त्री ओलीलाई चिनियाँ समकक्षी लिको बधाई कस्तो छ आजको मौसम पूर्वानुमान ? महान्यायाधिवक्तामा रमेश बडाल नियुक्त एमालेका वरिष्ठ उपाध्यक्ष पोखरेल कतार प्रस्थान त्रिशूली बस दुर्घटना: मृतकका परिवारलाई मधेस सरकारले १ लाख दिने सुनको मूल्य बढ्यो ; तोलाको कति पुग्यो त् ?

‘जाहेरी दर्ता गर्ने बाहेक प्रहरीले १६ वर्षसम्म केही गरेन’

  • साझा परिवेश
  • शुक्रबार, जेष्ठ २६, २०८० १0:४८
‘जाहेरी दर्ता गर्ने बाहेक प्रहरीले १६ वर्षसम्म केही गरेन’

म ७ चैत २०६३ को गौर घटनामा घाइते भएको थिएँ । मलाई शरीरका विभिन्न भागमा चोट लागेको थियो । खुट्टामा, ढाडमा र अन्यत्र भाटाहरूले हानेर रगताम्ये बनाइएको थियो । घटनापछि हामीले नै घाइतेहरूको उद्धार गरेर विभिन्न अस्पताल र स्वास्थ्य केन्द्र पठाउने काम गरेका थियौं । शवहरू खोज्ने काम हामीले गरेका हौं ।

घटनापछि सबै शवहरू काठमाडौं ल्याएर टुँडिखेलमा राखिएको थियो । त्यसपछि उनीहरूको सद्गत गर्ने काम भयो । पोष्टमार्टम लगायतका रिपोर्ट बनाउने र कागजातहरू संकलन गर्ने काम गरियो । २८ चैत २०६३ मै हामीले जिल्ला प्रहरी कार्यालय, रौतहटमा जाहेरी दिएका थियौं । कतिपयले मुख छोपेका थिए । उनीहरूको साथमा लाठा, भाटा थिए भने कतिपयले घरेलु बन्दुक बोकेका थिए । तर, प्रहरीले त्यतिबेला प्रमाण संकलनमा महत्व दिएन ।

त्यो घटनापछि विभिन्न मानवअधिकारवादी टोली, स्थलगत अवलोकन गर्नेहरूको टोली गौर पुगेको थियो । उनीहरूले आ–आफ्नो ढंगले अध्ययन गर्ने र प्रतिवेदन दिने काम गरे । घटनास्थलको फोटो खिच्नेदेखि अरू विवरणहरू संकलन गरेका थिए । तर, प्रहरीले चाहिं अनुसन्धानमा हुनुपर्ने जति काम गरेन ।

पछि सरकारले उच्चस्तरीय जाँचबुझ आयोग पनि गठन गरेको थियो रे ! यिनका कागजात र प्रतिवेदन सबै माथिल्लो निकायमा बुझाए भन्थे । हामीले अहिलेसम्म पनि त्यो पढ्न र हेर्न पाएका छैनौं । त्यसमा के लेखिएको छ भनेर हामीलाई थाहा हुने कुरा पनि भएन ।

घटनापछि दुई वटा जाहेरी परेका थिए । तिनमा त्यो घटनामा संलग्नहरूको नाम किटानीका साथ उल्लेख थियो । प्रहरीले उनीहरूलाई एकपटक पनि बोलाउने, सोध्ने, बयान लिने काम गरेन । घटनाका घाइते, मृतकका आफन्तहरूलाई बोलाउने, सोध्ने, को को संलग्न थिए भनेर बुझ्न खोजेन । उनीहरूसँग बुझ्न त कठिनाइ थियो होला, तर हामी त बोलाएको बेला जाने थियौं । तर १६ वर्षको अवधिमा प्रहरीले घटनाबारे कुनै चासो दिएन ।

घटनापछि हामीले यो घटनाको नेतृत्वकर्ता तत्कालीन मधेशी जनअधिकार फोरमका नेता उपेन्द्र यादव हुन् भनेर किटानी जाहेरी दिएका थियौं । त्यस घटनामा जे–जति अपराध र हिंसा भए, जति पनि व्यक्तिहत्या र जघन्य ज्यादती भए, उहाँको निर्देशनमा भएको हो भन्ने हाम्रो भनाइ हो । त्यतिबेला यो विषय छर्लङ्ग थियो । पीडित सबैलाई उहाँको संलग्नताबारे थाह छ । बीभत्स रूपमा ज्यान मार्ने उद्देश्यले घटना भएको थियो भन्ने हाम्रो निष्कर्ष हो । फेरि विभिन्न रिपोर्टमा उपेन्द्र यादवको संलग्नता बारे नामै किटेर भनिएको छ ।

घटनापछि मारिएकाहरूको पोष्टमार्टम रिपोर्ट छ । प्रहरीले घटनास्थलको फोटो खिचेको छ । घटना विवरण संकलन गरेको छ । घटनास्थलको मुचुल्का छ । विभिन्न मानवअधिकारको क्षेत्रमा काम गर्ने संघसंस्था घटनास्थलमा गएर रिपोर्ट बनाएका छन् । ती घटनामा संलग्नहरूको बारेमा कतिपय भिडियो रेकर्डहरू अहिले पनि उपलब्ध छन् । तिनलाई प्रमाण बनाएर त्यसका आधारमा पनि अनुसन्धान हुनुपर्छ भन्ने हाम्रो माग हो ।

घटनामा २८ जना मारिएका थिए । (विभिन्न दस्तावेजहरूमा २७ जना भन्ने उल्लेख छ ।) रौतहटका ९ जना मारिएका थिए । मकवानपुरका ८, सिन्धुली, रामेछाप, पर्सा र बाराका मानिसहरूको पनि ज्यान गएको छ । पीडितहरू छरिएकाले पनि सबै एकजुट हुन कठिन भएको छ । हामीले जसोतसो एउटा संघर्ष समिति बनाएका छौं । त्यही समितिले न्यायका लागि आवाज उठाइरहेको छ ।

हामीले बर्सेनि प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउने काम गरिरहेका छौं । घटना भएको क्षेत्रबाट माधवकुमार नेपालले प्रतिनिधिसभामा प्रतिनिधित्व गर्नुहुन्छ । उहाँहरूले पनि केही गर्नुभएन, पहल गरिदिएको भए त हामीलाई राहत हुन्थ्यो । उच्च पदमा रहेकाहरूलाई भेटेर यो घटनाको छानबिन गरी दोषीमाथि कारबाही गर्न भनिरहेका छौं ।

घटनापछि उपेन्द्र यादव लगायत नेताहरू पटक–पटक गौर पुगे । तर उनले पीडित परिवारसँग क्षमा माग्ने वा घटनाप्रति दुःख व्यक्त गर्ने काम गरेनन् । घटनामा संलग्न भएका अरू दोषीहरू पनि दिनदहाडै घुमिरहेका छन्, जसले गर्दा पीडितहरू थप दुःखी छन् । उनीहरू प्रहरीको अगाडि कत्ति पनि हिच्किचाहट नगरी घुमिरहेका छन् । उल्टो हामीलाई धाकधम्की दिइरहेका छन् ।

त्यो घटनामा सय जना भन्दा बढी घाइते थिए । उनीहरूलाई सरकारले कुनै वास्ता गरेन । घाइतेहरू रौतहटमा मात्रै छैनन्, विभिन्न जिल्लामा छरिएर बसेका छन् । फेरि दोषीमाथि अनुसन्धान र कारबाही नभएकाले पीडितहरू डराएका पनि छन् र उनीहरू बीच एकअर्कामा सम्पर्क हुन पनि कठिन छ ।

गौर घटनामा मारिनेहरू कतिपय त १८/२० वर्षभन्दा कम उमेरका थिए । बाबुआमाले आफ्नो किशोर सन्तान अनाहकमा गुमाउनुपरेको छ । यतिका वर्षसम्म न्याय नपाउँदा उहाँहरू विक्षिप्त जस्तै बन्नुभएको छ । अस्ति मात्रै गृहमन्त्रीलाई भेट्न आउनुभएको एकजना आमा उहाँको अगाडि डाँको छोडेरै रुनुभयो ।

त्यतिबेला घटनाका मृतकका परिवारले १० लाख रुपैयाँ राहत पाएका थिए । अरूले केही पाएनन् । पीडितका परिवारको शिक्षा, दीक्षा, अवसरमा कसैले वास्ता गरेको छैन । हाम्रो अरू केही माग छैन । घटनाको अनुसन्धान भएर दोषीमाथि कारबाही होस् भन्ने मात्रै इच्छा छ ।

घटनापछि हामीले हरेक सरकारलाई भेटेका छौं, वर्षैपिच्छे काठमाडौं आएर प्रधानमन्त्री, गृहमन्त्री गुहारेका छौं । हरेकले आश्वासन दिन छुटाएका छैनन्, तर केही काम गर्दैनन् । यसपालि पनि हामीले प्रधानमन्त्रीदेखि गृहमन्त्रीलाई भेटेका छौं । उहाँहरूले घटनाको अनुसन्धान अघि बढाउने आश्वासन दिनुभएको छ । यसपालि चैं माग पूरा होला कि भन्ने आशा छ ।

(१६ वर्षअघिको गौर घटनामा घाइते भएका मध्येका एक साह लगायतले घटना अनुसन्धानको माग गर्दै सर्वोच्च अदालतमा रिट निवेदन दिएका छन् । उनै साहसँग अनलाइनखबरकर्मी कृष्ण ज्ञवालीले गरेको कुराकानीमा आधारित ।)

श्राेत : अनलाइन खबर

  • साझा परिवेश
  • शुक्रबार, जेष्ठ २६, २०८० १0:४८

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट