जनकपुरधाम । पूर्वपश्चिम राजमार्ग अन्तर्गत धनुषाको चारनाथ खोलामा भइरहेको ग्राभेल उत्खननमा स्थानीयवासीले रोक लगाएका छन् ।
खोलामा पानीको बहाव बनाउने बहानामा खोलाबाट खनिएको ग्राभेल अन्यत्र लगेको पाएपछि स्थानीयले रोक लगाएका हुन् । सोमबार बिहान कमला नदी अवैध उत्खननविरुद्धका संघर्ष समितिका संयोजक बाली शर्मासहितका पदाधिकारी र गणेशमान चारनाथ नगरपालिका श्रीराम टोलका सयौं जनाले खोला पुगेर तत्काल खोला खन्न रोक लगाएको बताइएको छ । उनीहरु खोलामा पुगेपछि खोलामा रहेका टिपरको भागाभाग भएको थियो । खोलामा २० देखि २५ फिट चौडाइ तथा १५ देखि २० फिट गहिराइसम्म ग्राभेल खनिएको स्थानीयवासीको भनाइ छ । खनिएको ग्राभेल खोला क्षेत्रमै राख्नुपर्नेमा टिपरमा लोड गरेर अन्यत्र ओसारिएको दाबी उनीहरुको छ । सरकारी साधन स्रोतमा अवैध उत्खनन भइरहेको बताउँदै उनीहरुले गणेशमान चारनाथ नगरपालिकाका मेयर जितनारायण यादव र उपमेयर तुलसा पाण्डेको मिलेमतोमा यी कार्य भइरहेको आरोपसमेत लगाए ।
You must be logged in to post a comment.