काठमाडौं ।।
सरकारले काठमाडौं उपत्यकालाई व्यवस्थित बनाउन गुरु योजना बनाइरहेको छ । सहरी विकासमन्त्री सीता गुरुङले सरकारले बनाउने गुरु योजनाले सहरलाई थप व्यवस्थित र भएका बेथिति हटाउन सकिने बताइन् । उनका अनुसार काठमाडौं उपत्यकाबाट बग्ने वाग्मती नदी र त्यसका सहायक नदीहरूको सरसफाइ र त्योसँग जोडिएका मठ मन्दिर पुरातात्विक सांस्कृतिक वस्तुहरूलाई संरक्षण गरी पर्यटन विकास गर्ने गरी सरकार लागि रहेको छ ।
उनले काठमाडौं उपत्यकालाई स्वच्छ र सफा सहर बनाउने कामको थालनी भएको पनि बताइन् । सहर व्यवस्थित बनाउन सरकारले अव्यवस्थित र सुकुम्वासी बस्ती हटाउनुपर्ने उनको भनाइ छ । तर, सरकारलाई अव्यवस्थित र सुकुम्वासी बस्ती हटाउन धेरै गाह्रो भएको उनले बताइन् । उनले खोला किनारका अव्यवस्थित र सुकुम्वासी बस्ती हटाउन स्थानीय सरकार, जिल्ला समन्वय र सांसदहरूको सहयोग आवश्यक पर्ने बताइन् ।